कागेश्वरी मनोहरा नगरपालिका ८ मा ५ दिने प्रस्ताव लेखन र बैठक सञ्चालन सम्बन्धी तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,चैत्र ११ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८को आर्थिक सहयोगमा गोठाटारमा प्रस्ताव लेखन, बैठक सञ्चालन तथा निर्णय लेखन सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । चैत्र ६ गते देखि १० गते सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा चलेको सो तालिमको समापन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख थापाले महिलाहरुले आफनो क्षमताको विकास गरेर अगाडी बढ्नुपर्ने बताए उनले तालिममा सिकेका ज्ञानलाइ व्यवहारमा लागु गर्न अनुरोध गर्दै तालिमले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका बर्गको हक, हित र उत्थानका कार्यहरुलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख थापाको भनाई रहेको थियो । नगर प्रमुख थापाले नगरबासीहरुको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको पनि बताएका थिए ।कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कागेश्वरी मनोहरा वडा नं ८ का जनप्रतिनिधिहरु वडाकी सचिव सविना श्रेष्ठ लगायत अन्य संघ सस्थाका व्यक्तित्वहरु सहित प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईले वडा कार्यालय महिलाहरुको हक, हित र उत्थानका लागि लागिपरेको बताउदै महिलाहरुको क्षमता विकास र आय आर्जनमूलक कार्य गर्नका लागि वडाले आवश्यक बजेट बिनियोजन गरी कार्य गरिरहेको जानकारी गराएका थिए ।