गोकर्णेश्वर नगरपालिका- ८ आत्तरखेलमा लागुऔषध बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र १ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा लागुऔषध बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आत्तरखेल महिला समुह र आत्तरखेल युवा समूहको संयुक्त आयोजना तथा क्लिन एण्ड सेरेन पुनर्स्थापना केन्द्र नयाँपाटीको सहयोगमा शनिबार बिहान “से नो टु ड्रग्स, एस टु लाइफ” भन्ने मूल नाराको साथमा लागुऔषध बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
अत्तरखेल महिला समुहकि अध्यक्ष सुष्मा चेम्जोङको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा आत्तरखेल महिला समुहकि पुर्व अध्यक्ष सोममाया तामाङ , परिवर्तनशिल महिला समाजकी अध्यक्ष लक्ष्मी पुडासैनी, क्लिन एण्ड सेरेन पुनर्स्थापना केन्द्र नयाँपाटीको संस्थापक अध्यक्ष प्रकाश लामा, दिपक लामा, आत्तरखेल युवा समुहका अध्यक्ष सुमन लामा , आत्तरखेल युवा समुहका पदाधिकारी, आत्तरखेल महिला समुहका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन आत्तरखेल युवा समुहका सचिब दिनेश राइले गरेका थिए।
कार्यक्रममा आत्तरखेल युवा समुहका अध्यक्ष सुमन लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले लागूऔषध दुर्व्यसनी मुक्त समाज निर्माणको लागि एक जुट हुनु पर्ने बताए ।किशोरा अवस्थामा कुलत तर्फ लाग्ने सम्भावना अत्याधिक भएको हुँदा त्यसलाई रोक्नका लागी यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए ।कार्यक्रममा अत्तरखेल महिला समुहकी पुर्व अध्यक्ष सोममाया तामाङ , परिवर्तनशिल महिला समाजकी अध्यक्ष लक्ष्मी पुडासैनी, लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रमलाइ क्लिन एण्ड सेरेन पुनर्स्थापना केन्द्र नयाँपाटीको संस्थापक अध्यक्ष प्रकाश लामाले सहजीकारण गर्दै खराब साथीभाईको संगत, आमाबाबुले छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा र कम वास्ता गर्दा युवा तथा बालबालिकाहरु दुर्ब्यसनमा पर्ने गरेको बताएका थिए ।उनले लागु पदार्थको खराब असर बारे जानकारी नहुँदा समेत युवा तथा बालबालिकाहरु लागुपदार्थको लतमा पर्ने हुदा त्यता तर्फ ध्यान दिनु आवश्यक रहेको बताएका थिए । यस्तै कोहि कोहिले मानसिक रोगबाट ग्रस्त हुँदा, मनोरञ्जनको साधनको रुपमा लिँदा तथा पारिवारिक बिखण्डन हुँदा समेत लागुपदार्थको प्रयोग गर्ने गरेको उदाहरण दिएका थिए।लागुपदार्थ दुव्र्यसनीबाट मुक्त भएकाहरुलाई सम्मानपूर्वक समाजमा स्वागत गर्नुपर्ने आवश्यकता देखेको बताएका थिए ।उनले आफुले खोलेको पुनर्स्थापना केन्द्रले कुलत छाड्नेहरूलाई विभिन्न सीप सिकाएर परिवार र समाजमा पुनर्स्थापना गर्ने उदेश्य राखेको पनि जानकारी गराएका थिए ।
कार्यक्रमलाइ प्रमुख अतिथि को रुपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य कृष्ण राइले कुनै पनि मानिस आमाको कोखबाट जन्मदेखि लागुपदार्थको प्रयोग गर्छु भनेर यो संसारमा नआएको बताउदै मानिसको उमेरसँगै उसको शारीरिक र मानसिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ, उमेर अनुसारको कौतुहलता र उत्सुकताको कारणले धेरै युवाहरु लागुपदार्थको दलदलमा फसेको पाइएको उनले बताए।लागुपदार्थ न्यूनीकरण गर्नका लागी राज्यले मात्र गरेर सम्भव नहुने त्यसको लागि हेरक समुदाय संघसंस्था र हरेक ब्यक्ति आफै लाग्नु पर्ने बताउदै अनि मात्र लागुपदार्थरहित सभ्य समाजको परिकल्पना गर्न सकिने बताएका थिए । उनले रुप पक्षका लागि भन्दा पनि सार पक्षका लागि आयोजना गरिएको सो कार्यक्रम हेर्दा सानो लागे पनि त्यसले दिने संदेश ठुलो भएको बताउदै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिदै त्यस्ता कार्यमा आफुले सकेको सहयोग गर्ने पनि बताएका थिए ।