नारी दिवस कि श्रमिक महिला दिवस ?

नारी दिवस कि श्रमिक महिला दिवस ?

कपन अनलाइन

काठमाडौं,फागुन २४ /कमला लम्साल

आज ८ मार्च; अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाको अधिकार, हकहित र सुरक्षाको लागि आवाज उठेको दिन । विश्वका सम्पूर्ण देशमा नारी दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ भन्ने रास्ट्रिय नाराका साथ १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ ।

यदि यो नाराले भने जस्तो हुने भए समृद्ध नेपाल पनि टाढा छैन । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।

नेपालमा पनि बिगत लामो समय देखि नारी दिवस मनाइदै आएको भएता पनि के नारी दिवसले समाजको सबै स्तरका नारीहरुलाई समेट्न सकेको छ होला त ? के नारी दिवसले श्रम गरेर जीविकोपार्जन गर्ने सबै महिलाहरुलाई समेटेर आगाडी बढ्न सकेको छ ? आफैमा एउटा प्रश्न खडा भएको छ यसको उत्तर कहाँ छ थाहा छैन । अनुगमन भइ रहेको छ वा छैन थाहा छैन ।

दैनिक जीवन यापनका लागि मजदुरी गर्ने महिला, जो यस दिवसको लक्षित वर्ग पनि हुनुपर्ने हो उनलाई नारी दिवस भनेको के हो सम्म पनि थाहा छैन । उनलाइ थाहा छ त केवल बिहान काम नगरे बेलुका के खाने? आफ्ना बालबच्चालाई के खुवाउने? हाम्रो समाजका श्रमिक महिलाहरुलाई नारि दिवसले समेट्न सकेको छ जसो लाग्दैन । यहि दिवसको दिन श्रमिक महिला सायद महिलाको पक्षमा आवाज उठाउनेको घरमा नै दैनिकी चलाउन श्रम गरिरहेकी छिन ।

कति महिलाहरु घरेलु हिंसाको सिकार भइरहनु परेको हुन सक्छ । महिला दिवसको अवसरमा नारी कति सुरक्षित छिन भन्ने सवालमा निर्मला पन्थ, भागीरथी भट्ट जस्ता घटनाहरु ज्वलन्त उदाहरणको रुपमा रहेका छन् । यी त बाहिर आएका घटना मात्र हुन् । यस्ता घटना त कति घटिरहेका हुन्छन जुन सामाजिक मानप्रतिष्ठा, इज्जत तथा बिविध कारणले गर्दा बाहिर आउन सकेका छैनन् । महिला पुरुष बराबर भनिए पनि हाम्रो समाजमा धेरै प्रकारका विभेद र असमानताहरु कायम नै छन् ।

महिलाले महिला भएकै कारण समाजमा धेरै असमानता, हिंसा, विभेद र पीडाहरु सहनु परेको छ । नारी दिवसको उपलक्ष्यमा मनाइने कार्यक्रममा पनि पहुँचवाला नारीहरुको नै बर्चस्व कायम भएको पाइन्छ ।

श्रमिक महिलाहरुको उपस्थिति देखिन मुस्किल छ । यसले नारी दिवस मनाइरहेको भएता पनि नारीलाई हेर्ने दृष्टिकोणमा कति परिवर्तन आएको छ ? कतै महिला महिला विचको विभेद त बढ्दै गएको छैन, सोच्न बाध्य बनाएको छ । तर पनि नारी दिवस मनाईदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवस मात्र नभई श्रमिक महिलाहरुको आवाज बुलन्द भएको दिन हो यसले सबै स्तरका महिलाहरुको हक अधिकार, सुरक्षा र संरक्षणको प्रत्याभुति गर्न सकोस् । सबै महिलाले भयरहित बाताबरणमा आफ्नो जीवनयापन गर्न सकुन १११ औं नारी दिवसको सबैलाई शुभकामना ।

तपाइँको प्रतिक्रिया ।