आहा कति राम्रो सरकारी कार्यालय …

आहा कति राम्रो सरकारी कार्यालय …

कपन अनलाइन

काठमाडौं ,फागुन १८ /रंजन पौडेल

व्यवस्थित गेट, गेटबाट भित्र छिरेपछी बायाँपट्टि सफा क्यान्टिन, दाहिनेपट्टी परिसर, बिचमा मज्जाको पानीको फोहोरा, वरिपरि व्यवस्थित सँग पार्किङ गरिएका सवारीसाधनहरु जसमा मोटरसाइकल, हलुका सवारी साधन तथा अन्य ठुला गाडीहरुको लागि छुट्टाछुट्टै स्थान, परिसरमै अत्यन्त लोभलाग्दो भवनहरु हेर्दा लाग्छ   कुनैपनि साइनबोर्ड नराखिने हो भने भौतिक संरचना, बाह्य व्यवस्थापन र उपलब्ध चिजबिजहरु हेर्दा यो भवन  दुईदेखी तीन तारे  होटेल भन्दा कम देखिदैन ।काठमाडौं त्रिपुरेश्वरमा रहेको यो संरचना अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागको कार्यालय हो ।

भुकम्प पश्चात् भवनको पुर्णनिर्माण, थप संरचनाको निर्माण तथा सम्पुर्ण परिसरको व्यवस्थापन गरिएपछी भन्सार कार्यालयको स्वरुपनै फेरिएको छ । भवन अगाडि भएको पानीको फोहोराले त झन् यसको स्वरुपमा श्रृङ्गारको काम गरेको छ ।

परिसर भित्र छिरेपछी दायाँतर्फ सोधपुछ कक्ष रहेको छ । जहाँ कुनैपनी नयाँ सेवाग्राहीले आफुलाई आवश्यक विषयमा सोध्न सक्छन् । परिसरको ठिक अगाडि भएको आकर्षक भवनबाट भन्सार सम्बन्धी बाकीँ सबै सेवा प्रवाह  हुन्छ ।

कोभिडको सङ्क्रमणलाई मध्यनजर गर्दै मुख्य गेटमै हातधुने व्यवस्था गरिएको छ साथै ठुला सवारीसाधनका लागि पछाडिपट्टी छुट्टै पार्किङको व्यवस्था छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सबै सेवाप्रवाहलाई डिजिटलाइज गर्ने योजना अनुरुप भन्सार विभाग समेत अगाडी बढेको कार्यालयका अधिकारीहरु बताउछन्।

थोरै मेहेनत गर्दा हुने परिवर्तनलाई महसुस गराएको यो भवन अन्य  सधै सरकारी कार्यालयहरुमा अनुकरणीय बन्न सक्छ।

(रंजन पौडेल  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।