महिला क्रिकेट टोलीलाई लोकतान्त्रिक खेलकुद संघको बिदाई

कपन अनलाइन

काठमाडौं ,फागुन ६।

नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोलीलाई बुधवार  शुभकामना सहित बिदाई गरेको छ ।
पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली आजै त्यस तर्फ प्रस्थान गरेको हो । सिरिजमा गंडकी प्रदेश र बागमती प्रदेशबिच ५० ओभरको ६ एक दिवसिय प्रतियोगिता हुने छ । जसमा एक महिना भित्र ३ एक दिवसीय खेल पोखरा र ३ एक दिवसीय खेल काठमाण्डौमा हुनेछ ।
महाराजगंजस्थित हेडलाईन क्याफेमा भएको कार्यक्रमा नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ का सभापति, पूर्व काँग्रेस खेलकुद विभाग सदस्य एवं अन्तराष्ट्रिय कराते खेलाडी राजु श्रेष्ठले टोलीलाई नेपालका पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापना गरिएको गजराज जोशी फाउण्डेशनद्वारा प्रदान गरिएको खेल पोशाक र नगद २० हजार र शुभकामना सहित बिदाई गरे । जसमा प्रमुख अतिथी राजु श्रेष्ठले १० हजार र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव एवं गजराज जोशी फाउण्डेशनका अध्यक्ष मनिष राज जोशी (राम) ले दस हजार गरि २० हजार रहेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव एवं गजराज जोशी फाउण्डेशनका अध्यक्ष मनिष राज जोशी (राम)को अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै प्रमुख अतिथी राजु श्रेष्ठले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्दै बिजय भएर फर्कन शुभकामना प्रदान गरे । उनले खेलाडीहरुलाई खेलाडीहरु एक्लो नभई बागमती प्रदेशनै खेलाडीहरुको साथमा रहने भन्दै विजयी खेलाडीहरुको स्वागतमा तयार रहेको बताए । उनले सिरिजमा विजय भएको खण्डमा खेलाडीहरुलाई डिनरको ब्यवस्था गर्ने र बागमती प्रदेश संघका संयोजक एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य दीपक गुरुङ्गले घोषणा गरेको ३० हजारको रकममा थप २० हजार सहित ५० हजार प्रदान गरिने बताए ।
कार्यक्रमका सभापती मनिष जोशीले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउन र खेलाडीको रुपमा आफुलाई स्थापित गर्ने उद्धेश्यले अगाडी बढ्न सुझाव दिए । उनले खेलाडीहरुमा सवै भन्दा पहिले खेलाडी बन्ने र खेलमा समर्पित हुने चाहना हुनु अत्यन्त महत्वपूर्ण रहेको र त्यसले मात्र खेलाडीहरुको मनोबल उच्च हुनुका साथै विजय हुन मद्धत पुग्ने बताए ।
बागमती प्रदेशका संयोजक दीपक गुरुङ्गले खेलाडीहरुलाई पोखरामा एक्लो महशुस नगर्न सुझाव दिंदै नेपाल लोकतान्त्रिक संघ सदा खेलाडीको साथमा रहेको बताए । उनले पोखरामा कुनै समस्या आएमा खवर गर्न भन्दै त्यसको समाधान संघले गर्ने र खेलाडीले विजयी भएको खण्डमा ३० हजार नगद प्रदान गर्ने बताए ।
खेलाडीहरुलाई नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव बखत बहादुर शाहीले पनि शुभकामना प्रदान गरेका थिए । कार्यक्रमा संघका केन्द्रिय सदस्य राजु बिक्रम थापा, काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितालाई भारतस्थित डिलक्स स्पोर्टस् कम्पनी (डिएससी) र पोखरा क्रिकेट एकेडेमीले संयुक्त रुपमा आयोजना गर्न लागेको बागमती टिम प्रशिक्षक रविन जोशीले जानकारी गराए । उनले आफ्नो पहलमा प्रतियोगितालाई डिएससीलाई प्रायोजन गर्न प्रोत्साहन गरेको बताए । ‘हाल सम्म महिलाहरुको ५० ओभरको वन डे खेल नभएको र यसले खेलाडीहरुको स्तरमा बृद्धि गर्न मद्धत पुग्ने छ’ – प्रशिक्षक रविन जोशीले बताए ।
हाल सम्म पुरस्कार रासीको घोषण नगरिएको र प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिजको घोषणाका साथै ट्रफी प्रदान गरिने प्रशिक्षक रविनले बताए ।

तपाइँको प्रतिक्रिया ।