टेबलटेनिसको प्रवर्धनमा भ्याली कन्स्ट्रक्सनको साथ

टेबलटेनिसको प्रवर्धनमा भ्याली कन्स्ट्रक्सनको साथ

कपन अनलाइन

काठमाडौं ,फागुन ४।

स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई भ्याली कन्स्ट्रक्सन प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ ।
स्पिनका अध्यक्ष सुमन शाक्य र भ्यालीका प्रबन्ध निर्देशक रविन्द्र महर्जनले सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे । सम्झौता अनुसार भ्यालीले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख ५० हजार खर्च हुने स्पिनका अध्यक्ष शाक्यले जानकारी गराए । सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न लागिएको प्रबन्ध निर्देशक महर्जनले बताए ।
सोही अवसरमा प्रतियोगिताको सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, सम्झना लेबोरेटरी र बाबुरत्न कन्स्ट्रक्सन रहेको जानकारी दिइयो ।
प्रतियोगिता चैत २ देखि ७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । ६ स्पर्धा समावेश प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, भेट्रान सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा पुरुष÷महिला टिम इभेन्टमा खेल हुने छ ।
सिंगल्समा शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रानतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताए ।

तपाइँको प्रतिक्रिया ।