साना किसानका लागि खुसीको खबर : ‘किसान क्रेडिट कार्ड’ मार्फत सहज कर्जा पाउने

कपन अनलाइन

काठमाडौं ,फागुन ४।

साना किसान पनि ‘किसान क्रेडिट कार्ड’ मार्फत बैङ्किङ प्रणालीसँग जोडिन सकिने भएको छ ।
किसान क्रेडिट कार्ड लिएका किसानले खेती लगाउँदा गोजीमा पैसा नभएपनि मल, विउ, कृषि उपकरण तथा किटनासक औषधिलगायत कृषि क्षेत्रका लागि आवश्यक सामग्री किन्न सकिने भएको छ ।
कृषि क्षेत्रमा उद्यमसिलता विकासको उद्देश्यले काम गरिरहेको आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिले विभिन्न बैंक र टेक्नोलोजी पार्टनरको समन्वयमा किसान क्रेडिट कार्ड प्रणाली मार्फत किसानले आवश्यक सामग्री लिन सक्नेछन ।
यस कार्डको प्रयोग गरि कृषकहरुले बैंक मार्फत् पाएको सहुलियत कर्जालाई कृषि उद्यमका लागि अत्यावश्यक बीउ, मल, औजारहरु खरिद गर्न सक्नेछन ।
सहुलियत कृषि कर्जालाई कार्ड मार्फत उपलब्ध गराई देशभरका कृषि सामग्री बिक्रेतामार्फत सजिलै अत्यवाश्यक कृषि सामग्री खरिद गर्ने प्रणालीले लगानीको सहि सदुपयोग हुने आर एण्ड डीका कार्यकारी अधिकृत सुनिता न्हेमाफुकीले बताएकि छन  ।
सो कार्डको प्रयोगले कृषकहरुले खरिद गरेको बीउलगायत अन्य सामग्रीको खपतको र कृषि क्षेत्रमा आवश्यक लगानीको समेत वास्तविक तथ्याङ्क प्राप्त हुने कार्यकारी अधिकृत न्हेम्हाफुकीले जानकारी दिइन  ।
किसान क्रेडिट कार्डको उद्देश्य :
नेपालका अधिकाँस साना किसानको पहुच  बैङ्किङ प्रणालीसम्म पुगेको छैन । अत्यावश्यक चालु पुँजीको अभावमा कृषिलाई व्यवसाय वा उद्यमसिलतासँग जोड्न यस कार्डले सहयोग पुर्याउनेछ।
यसको उपयोगले कृषकले खरिद गरेको –बिउ, मल, विषादी, आधुनिक कृषि औजार र खर्चलगायत डिजिटल अभिलेखिकरण हुँदा सम्वन्धीत क्षेत्रमा कृषि सम्वन्धी योजना बनाउन सजिलो पर्दछ ।
कसरी कार्ड लिने ?
स्थानिय तहको सिफारिसमा किसानले नजिकैको बैंकको शाखामा गएर किसान क्रेडिट कार्डको लागि आवदेन दिन सक्नेछन् । आवेदक कृषकको नागरिकता र तीन प्रति फोटो, आवेदक बस्ने एकाघरको सबैको नागरिकताको प्रतिलिपी, फर्म दर्ता भए फर्मको प्यान वा नभए आवेदकको व्यक्तिगत प्यान कार्ड, जग्गाको लालपूर्जा आवश्यक पर्दछ । त्यसैगरी जग्गा भाडामा लिएको भए करारनामाको प्रतिलिपी, एकपन्ने व्यवसायिक योजना, आर. एण्ड डि. इनोभेटिभ सोलुसनको सिफारिसपत्र र व्याज अनुदानसहितको कृषि कर्जा अन्य कुनै बैंकबाट नलिएको हुनुपर्नेछ । यस कार्डमार्फत लिएको कर्जा समयमै भुक्तानी गर्ने प्रतिवद्धतापत्र आवश्यक पर्ने आर. एण्ड डि.इनोभेटिभ सोलुसन प्रालिका निर्देशक डम्बर खनालले जानकारी दिए  ।
कार्डबाट पाउने कर्जा प्रकार
किसान क्रेडिट कार्डमा उपलब्ध कर्जा अधिकतम दुई लाख रुपियाँदेखि न्युनतम पच्चिसहजार रुपियाँसम्मको (ओभर ड्राफ्ट लोन ) हो । त्यसबाट कृषकले जत्ति रकमको उपभोग गर्दछन् । त्यत्तिको मात्र त्रैमासिक रुपमा व्याज भुक्तानी गर्नुपर्दछ । यो कर्जा नेपाल सरकारको व्याज अनुदानसहितको कृषि कर्जा अन्तरगत पर्ने भएकोले कृषि बाहेक अन्य प्रयोजनको लागि कार्डको प्रयोगलाई निरुत्साहित गरिएको छ । यो कार्डबाट नगद भने निकाल्न पाइदैन । यो कर्जा पाँच वर्षसम्म नविकरण गर्दै तिर्न सकिन्छ ।
कार्डको प्रयोग
किसानले कार्ड लिएर एग्रोभेटमा कार्ड उपयोग गर्न सक्छन् । कार्ड धनीको ‘क्युआर कोड’ लाई एग्रोभेट वा सेवा प्रदायकले स्क्यान गर्दछन् । किसानले खरिद गरेको सामानको मूल्य बराबरको रकमको भुक्तानीको लागि एप्लीकेसनमार्फत दावी गर्दछन् । विक्रेताले दाबी गरेपछि किसानको मोवाइलमा भुक्तानीको लागि दाबी गरिएको रकमसहितको छवटा अङ्कको कोड विक्रेतालाई उपलब्ध गराउँछन् । त्यसपछि छ (६)अङ्कको कोड विक्रेताले स्मार्ट फोन र इन्टरनेटको अनिवार्य आवयकता पर्दछ भने कृषकलाई एसएमएस प्राप्त हुने सामान्य फोन भए हुन्छ ।
बिना धितो, डिजिटल माध्यमबाट भुक्तानी हुने, संरक्षित भुक्तानी विधिबाट दुई लाख रुपियाँसम्मको कृषि सामग्री, बीउ ,मल, औजार किन्न मिल्नेछ । मेगा बैंक, एनएमबि बैंक र आर एण्ड.डि इनोभेटिभ सोलुसन प्रालिसँगको सहकार्यमा मेगा बैंक र एनएमबी बैंकले किसान क्रेडिट कार्डको वितरण गरिरहेको छ ।
भक्तपुर दुवाकोटमा च्याउ खेती गर्ने नारायणप्रसाद लाखाले भने सबैतिर किसान क्रेडिट कार्डले काम चल्ने वातावरण छैन, पैसामै कारोवार गर्ने विद्यमान चलन रहेकोले श्रीमतीको नाममा लिएको कार्डको कम उपयोग भएको अनुभव सुनाएका छन  ।
नेपाल कृषि विकास बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसर पारेर वितरण सुरु गरेको किसान क्रेडिट कार्डको उपयोगको लागि भने उपयोगकर्ता किसानको खातामा रकम हुनुपर्दछ ।
कृषि विकास बैंकको कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् ।
किसानले बैंकबाट ऋण स्वीकृत भएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।
किसानले मल बीउको पसलमा रहेको मर्चेन्ट मेसिनमा स्वाइप गरेपछि क्रेडिट कार्डबाटै रकम काटिने व्यवस्था गरिएको कृषि विकास बैंकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।