यौटा घडेरी त्यहाँ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,फागुन १।
आएँ मख्ख परेर यो शहरमा के के न गर्नेबनी
छोडेँगाउँकुदेर यो सुगममा होला सुविस्ता भनी
ल्याएँ कागज क्यै कलेजतिर गै मोटो भयो फाइल
उस्तै छन् व्यवहार जीवन सधैँ बन्दै रह्यो अल्मल ।।१।।
खाली पेट अगाडि सर्दछ सधैँ छैनन् कुनै चिन्तन
थाकेँनित्य कुदी यता अनि उता कैले हुने छुन्मुन
बेची खेत किनेर खान्छु अहिले के पाइयो भन्नु खै
बाँझो खन्न भयो महा कठिन त्यै ऐले कहाँ खन्नु खै ।।२।।
भेटिन्थे प्रिय दाजुभाइ पहिले ऐले त भेटिन्न क्वै
जो भेटे पनि प्यास बालवायको मेटिन्न मेटिन्न झैँ
खुल्थ्यो आँतझरे नि तर्र पसिना आनन्द के होस् कुदी
धोक्रो यो भनियो भरौँ, तर मिल्यो बोक्रो, हरायो गुदी ।।३।।
ठूला चौर थिए मिलेर सबले खेल्थ्यौँ कपर्दी त्यहाँ
लागे चाङ्ग जताततै घर यहाँखेल्ने र कुद्ने कहाँ
छेक्छन् घाम छिमेककै घरहरु खोज्ने कहाँ पारिलो
खाई नित्य धुवाँधुलो भइसक्यो छाती यहाँ थङ्थिलो ।।४।।
हुन्छन् भाषण यैँ अनेक थरिका पत्याउँने हो कुन
छापिन्छन् अखबारमा दस कुरा हो सत्य वा होइन
थाहा हुन्न फसाउँदै छ कसले कैले धसाई छुरा
छोड्दा गाउँ छुटेछ सायद त्यतै हाँसो खुसीका कुरा ।।५।।
के विश्वास यहाँ त बाबु तक नै ठग्छन् दलाली गरी
सल्कन्छन् सय रोग हुर्हुर यहाँ को जान्छ कैले मरी
बारी छैन उमार्न साग धनियाँ किन्दा मुठाकै असी
बोली साध्य हुँदैन चित्त नबुझे लेख्यो सकायो मसी ।।६।।
होला शुध्द त्यहाँ त दूध त्यसमा घोलिन्न होला ढल
पाइन्छन् नि अवश्य आरुबखडा ताजा मिठा काफल
खाएँशुध्दभन्यो भने त दुनियाँ झन् खिस्स हाँस्छन् यहाँ
काका लौन मिलाउनु अब पर्यो यौटा घडेरी त्यहाँ ।।७।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक