नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा: विद्या सुन्दर शाक्य

नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा: विद्या सुन्दर शाक्य

कपन अनलाइन

काठमाडौं ,माघ २५ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको वेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताएका छन  ।

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदानपछि सम्बोधन गर्दै यस्तो बताएका हुन्  । महानगरपालिकाले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको थियो । ‘जीर्ण, र क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा सकेसम्म यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य अनुरुप अनुदान उपलब्ध गराउँदै आएका छौँ,’ शाक्यले भने , ‘हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् ।

यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं ।’ प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन पनि आग्रह गरेका थिए  । ‘योजना लिएर आएको अवस्थामा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने , ‘महानगरपालिकाकै आर्थिक सहयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुनर्निर्माण भइरहेको छ ।’ शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित कार्यक्रममा पुनर्निर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले पनि संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयर शाक्यसँग सहकार्य गरेर नै आफू अघि बढिरहेको जानकारी दिएका थिए  । समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको बताउनुभयो। विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो। पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुनर्निर्माण गर्ने समितिका सहसचिव सुनील महर्जनले जानकारी दिनुभयो । बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो । डेढ रोपनी क्षेत्रफलमा भएको बिहारभित्र बनेपामा सञ्चालित बौद्ध बृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन् ।

तपाइँको प्रतिक्रिया ।