डा. नवराज चालिसेलाई सुरभि साहित्य प्रतिष्ठानको विशेष सम्मान, अन्य स्रष्टाहरू पनि पुरस्कृत

कपन अनलाइन

काठमाडौं ,माघ १८।

सुरभि साहित्य प्रतिष्ठानले विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले वरिष्ठ अर्थशास्त्री डाक्टर नवराज चालिसेलाई विशेष सम्मान गरेका थिए  । ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लागि डाक्टर चालिसेले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्  ।

सोही अवसरमा सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरियो । यी दुवै पुरस्कारको राशी २०–२० हजार रुपैया रहेको छ । त्यस्तै १० हजार रुपैया राशीको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र ७ हजार रुपैया राशीको सुरभि–प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरियो । ५ हजार रुपैया राशीको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार भने वर्षा खड्कालाई प्रदान गरियो ।

कार्यक्रममा बाजुराम पौडेलेको निबन्ध सङ्ग्रह छोडिएका पाइलाहरू, समिना खनाल ‘पृथा’ को कथा सङ्ग्रह छोरीको डायरीबाट, माधव भँडारीको इतिवृत्त र सिर्जना तथा पवित्रा अधिकारीको कथा सङ्ग्रह देहउत्सवको विमोचन गरिएको थियो ।

प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेल, साहित्यकारहरू शैलेन्द्रु प्रकाश नेपाल, विजय चालिसे, युवराज मैनाली, गोविन्दप्रसाद घिमिरे लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए  । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलका अनुसार प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिवार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।