रानीपोखरीको जस्तै हुनेभो कमलपोखरीको कथा
कपन अनलाइन
काठमाडौं ,माघ १३/पुन्य पुडासैनी
एक समय काठमाडौंको मुटुमा रहेको रानीपोखरी निर्माणमा अवरोधको सामाचारले अधिकांश संचार मध्यममा स्थान पाउने गरेको थियो। काठमाडौं महानगरपालिका उपप्रमुखको तालाबन्दी देखि इट्टाको रंग र बनौट सम्मका समाचार दैनिक जसो देखिने गरेको थियो।त्यो समय एकाएक रानीपोखरी सरकार देखि जनता सम्मको चासो र चर्चाको विषय बनेको थियो।
धेरै भाषण ,बहस छलफल ,अन्तरक्रिया ,आन्दोलन र विरोध देखेको रानीपोखरी निर्माण सम्पन्न भएको दिन निकै सुन्दर लयमा देखिने पानीका लहर जस्तै शव्दहरुमा यसले प्रसंशा पनि पायो। लाखौ शव्दहरुमा निर्माणको चिन्ता र चासोका लागि खर्च भएको रानीपोखरीको अन्तमा केहि सुन्दर हरफ संगै सकिएको थियो।
लामो समय सम्म रानीपोखरीले भोगेको पिडा अव कमल पोखरी तिर सरेको छ। विघटित प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता गगन थापाले पत्र लेखेर निर्माण कार्य रोक्न आग्रह गरे संगै रातारात विभिन्न अभियानका अभियन्ताहरुको तिर्थ स्थलका रुपमा परिणत भएको कमल पोखरीको माटो अचेल पशुपतिको विभूति भन्दा पवित्र बनेको छ।
रानीपोखरी पुननिर्माणका क्रममा धेरै बाधा अवरोध सामना गरेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीमा उक्त नियति नदोहोरियोस भनेर सरोकारवालाहरु संग पटक पटक छलफल गरेको बताउदै आएका छन।
२०७६ बाट निर्माण शुरु गरिएको कमल पोखरीको निर्माणका लागि सबै पक्षको सहभागितामा डिजाइन र निर्माणको वारेमा २०७५ पुस १७ गते पुर्व प्रतिनिधि सभा सदस्य थापा ,बागमती प्रदेसका प्रदेस सभा सदस्य नरोत्तम बैध ,वडाका जनप्रतिनिधि संग छलफल गरेर निर्माणको काम अगाडी बढाएका शाक्यले निर्माण कार्यमा आएको अवरोध प्रति सार्वजनिक रुपमा नै प्रश्न उठाएका छन।
सो छलफलमा पोखरीको डिलमा भएको लालपूर्जा सहित बसेको प्रहरी कार्यालय स्थानान्तरण गर्न, मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व र पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नु पर्ने सुझाव दिएका थापाले अहिले पोखरी निर्माणको काम रोकेर पुन छलफल गर्नुपर्ने माग गरेको पत्र संचार माध्यमलाई दिए पनि आफुले नपाएको बताउदै आएका छन।
अर्कोतिर अहिले कमल पोखरीको पवित्र (!) माटो निधारमा दलेर अभियन्ताहरु आन्दोलनमा उत्रिने क्रम बढे पछि निर्माण कार्य गर्ने कि नगर्ने भन्नेमा विवाद बढेको छ।
करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीमा सार्वजनिक शौचालय बाहेक अन्य भौतिक संरचना निर्माण नगर्ने तथा सौन्दर्यीकरणका लागि नेपाली इटा र दर्जिन ढुङ्गाको प्रयोग गरेर पोखरीको चार कुनामा कमल फुल्ने साना साना सहायक पोखरी र ५ वटा मकराकृति ढुङ्गेधारा निर्माण समयमै सम्पन्न गर्नका लागि महानगरपालिकाले अनुरोध गरेको छ भने आन्दोलनकारीहरु पोखरीको डिजाइननै परिवर्तन गर्नुपर्ने मागमा रहेका छन।
कमल पोखरीको डिलमा उभिएर हेर्दा यो रानी पोखरीको कथा जस्तै लाग्छ किनकी विषय,मुद्दा र प्रकृति खासै फरक नदेखिए पनि विरोधको स्वरुपमा भने परिवर्तन आएको छ। र यसले अवका केहि दिनमा संचार माध्यम र सामाजिक संजालमा केहि हजार शव्द खर्च हुने देखिन्छ।
कुनै समय कमल फुल्ने उक्त पोखरीमा रहेको सिमसार क्षेत्र र मौलिकता सम्वर्धन सहित निर्माण हुनुपर्ने बताउदै आएका स्थानीयहरुले पनि यसलाई ठुलो प्रतिष्ठाको विषय बनाउनु भन्दा छलफल गरेर समयमै सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन।
रानी पोखरीको कथा सम्झिने हो भने ढुक्कले भन्न सकिन्छ कमल पोखरीको पनि कथा उस्तै हुनेछ तर यो भनिरहदा धेरैको मनमा अहिले उठिरहेको किन यो कथाको पुनरावृति भन्ने प्रश्नले भने आउने दिनमा विरोध र प्रतिरोधका उदेस्य,इच्छा,योजना र कामनाहरु उजागर गर्नेछ र र गर्नुपर्नेछ।