प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच बालुवाटारमा भेटवार्ता

कपन अनलाइन

काठमाडौं ,पुस १३ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ ।

आइतबार बेलुकी भएको भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताउनुभयो । भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए।

सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए। सल्लाहकार भट्टराईका अनुसार चिनियाँ टोलीले दुई देशबीच गहिरिदैं र झ्याँङ्गिदै गएको सम्बन्धमा खुशी व्यक्त गरेका छन्।

उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ। सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।