रवि फार्मेसीमा गंभीर एवम् संवेदनशील त्रुटीहरू भेटिए

DSC_0973कपन अनलाइन१५ मंसिर, २०७१

म्याद नाघेको औषधी बिक्री गरेपछि मिलनचोकस्थित रवि फार्मेसी कारवाहीमा परेको छ । म्याद नाघेको खोकीको औषधी बिक्री गरेका भेटिएपछि आएको अनुसन्धान टोलीले मेडिकलभित्र अन्य म्याद नाघेको औषधी फेला पारेको छ । कपन प्रहरीको सहयोगमा औषधी व्यवस्था विभागका सातौँ तहका फार्मेसी अधिकृत राम शर्मा पौडेलको टोलीले गरेको अनुसन्धानबाट म्याद नाघेका खोकीको औषधी, एबोर्सन औषधी लगायत भिटामिनहरू रहेको जनाएका छन् । पौडेलका अनुसार दैनिक रुपमा बिक्री वितरण हुने आठ प्रकारका संवेदनशील औषधीको म्याद नाघेको भेटिएको थियो । कालोपुलमा रविन्द्र थापको नाममा रहेको फार्मेसीको सञ्चालन भने अर्कै व्यक्तिले गरिरहेको भेटिएको थियो ।

कसरी पर्यो फेला ?
बिहानको समयमा चेकजाँच गरी स्थानीय १५ वर्षीय प्रनिल थापालाई तीन महिना म्याद नाघेको औषधी बिक्री गरेपछि प्रनिलका बाबु प्रकाश थापाले प्रहरी समक्ष उजुरी दिएका थिए । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको हुँदा प्रकाश थापाले औषधी व्यवस्था विभागमा समेत उजुरी गरेका थिए । थापाको उजुरीसँग कपन प्रहरीको सहयोगमा औषधी व्यवस्था विभागको टोली मिडियाका साथ घटनास्थल पुगेको थियो । घटनाका पीडितले जनस्वास्थ्यामा खेलबाड भएको हुँदा हदैसम्मको कारवाहीको माग गरेका छन् ।

DSC_0980
रवि फार्मेसीका संचालक

के भेटियो छापाबाट ?
रवि फार्मेसीको नामबाट का.म.न.पा वडा नं. ५ कालोपुलमा रहने गरी दर्ता गरिएको फार्मेसीको कुनै नामसारीको प्रमाणपत्र पनि नभेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । उनले छापाका क्रममा म्याद नाघेका आठ प्रकारका संवेदनशील औषधीहरू भेटिएको जानकारी गराए । छापामा भेटिएका औषधीहरूमा भिटामिन बी कम्प्लेक्सदेखि एबोर्सन (महिलाहरूको गर्भपतन) मा प्रयोग हुने औषधीहरू भेटिएको थियो ।

 

किन गरिन्छ हेलचेक्र्याइँ ?
औषधी बिक्री वितरणमा दक्षता हासिल गरेको व्यक्ति बस्नुको सट्टा आफ्ना परिवारका अन्य सदस्यहरू राख्ने गरेकोले पनि यो अवस्था सिर्जना हुन गएको देखिन्छ । छोराको नाममा दक्षताको प्रमाणपत्र भएपनि औषधी पसलमा भने प्रायः आमाबाबु हुने गरेको स्थानीयले बताए ।

 

अधिकांश औषधी क्षणभरमै गायब ?
बिहानको समयमा प्रहरीको रहोबरमा कपन अनलाइनसमेतको टोली जाँदा स्वयं बिक्रेता आफैँले आफूहरूले म्याद नाघेको औषधी छुट्टै राखेको भनी देखाएका दुई कार्टुन औषधीहरू औषधी व्यवस्था विभागको टोली आउँदा नष्ट गरिसकेको पाइयो । दुई कार्टुन म्याद नाघेको औषधी भेटिएको केही घण्टामा जम्मा आठ प्रकारका औषधी भेटिनुले अन्य औषधी नष्ट गरिएको सजिलै बुझ्न सकिन्थ्यो । कतिपय औषधीहरू अनिवार्य रुपमा कार्बन कपी राखेर बेच्नुपर्ने भएपनि बिक्रीको बिलबिजक नराखेको पाइयो ।

10836204_10205502835509780_1592569228_n

के हुन्छ अनुसन्धानमा ?
म्याद गुज्रेको औषधी भेटिएलगत्तै आएको अनुसन्धानको टोलीसँग गल्ती स्वीकारेका रवि फार्मेसीका सञ्चालकलाई अनुसन्धानका लागि तीन दिनभित्र उपस्थित हुन औषधी व्यवस्था विभागले आदेश जारी गरेको छ । म्याद गुज्रेका औषधीको नामसहित सञ्चालकको हस्ताक्षर गरिएको कागज औषधी व्यवस्था विभागले तयार पार्नुका साथै फार्मेसीमा ताला लगाइएको छ ।

 

कारवाही के हुन्छ ?
औषधी व्यवस्था विभागका अधिकृतले बताएअनुसार म्याद गुज्रेको औषधी बिक्री वितरण गर्ने फार्मेसीको औषधी बिक्रेता प्रमाणपत्र निलम्बन गरिनेदेखि खारेज गर्ने सम्मका कारवाही हुने बताएका छन् । उनले उक्त फार्मेसी भने तत्कालको लागि बन्द रहेको र सञ्चालकसँगको बयानपछि महानिर्देशकको कार्यालयले सिफारिस गरेबमोजिमको कारवाही हुने जनकारी गराए ।

तपाइँको प्रतिक्रिया ।