रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

कपन अनलाइन

काठमाडौं ,पुस ५।

नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिवार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिवार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ ।

यो पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ । यसैगरी २० हजार रुपैया राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ । साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरियो । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।

वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्धय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के. के कर्माचार्य,  प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेल लगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधि बारे चर्चाग रेका थिए  ।

तपाइँको प्रतिक्रिया ।