भारत र चीन दुवै देशसँग नेपालको द्धिपक्षीय सम्बन्ध सुमधुर र सुदृढ छ :डा. राजन भट्टराई

कपन अनलाइन

काठमाडौं ,मंसिर १५।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्धिपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको स्पष्ट पारेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीहरुसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरेका छन्  ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भट्टराईले भने,‘हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारको स्पष्ट भनाई के छ भने संविधानमा पनि उल्लेख छ–हामी कतैपनि संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौं । हाम्रो भू–राजनीतिक अवस्थिति नै त्यस्तो छ, हामी यता हो कि उता भनेर सोच्ने छुट छैन् । हाम्रा नजिकका छिमेकीहरुसँगको सम्बन्धलाई ध्यान दिनैपर्छ । स्वतन्त्रतासँग जोडिएको विषय छ । जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ ।’

उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको सुनाए र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढिभन्दा बढि परनिर्भरता भारतसँग रह्यो । अहिले पनि दुई तिहाँई वैदेशिक व्यापार भारतसँगमात्रै छ । भारतले सहयोगात्मक परियोजना नेपालमा थुप्रै छन । संविधान बनाउने बेलामा भारतले प्रभाव देखाउन खोजेको थियो । तर, नेपालका दलहरुले एकता देखाए । आजको नेपाल र आजको चेतनाअनुसार हामी सम्बन्ध बनाउँछौं । त्यही भएर हामीले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन भन्यौं ।’
उनले भारतसँग सिमाको विवादको समस्या रहेको उल्लेख गर्दै त्यसलाई पनि हल गर्नेगरि वर्तमान सरकारले काम अघि बढाएको सुनाए । उनले भने,‘यो विवाद अहिलेको होईन् । दुई प्रधानमन्त्रीबीच गत अगष्ट १५ मा टेलिफोनवार्ता भयो । सम्वाद भयो । भारतीय प्रधानमन्त्रीले ईन्टिलिजेन्स प्रमुखलाई आफ्नो सन्देश बोकेर पठाउनुभयो । अघिपछि नेपालका थुप्रै नेताहरुले रअ प्रमुखसँग भेटेका छन् ।

यो अभ्यास विगतदेखि नै छ । अहिले आए उनी, उनी के भनेर आए भने सम्वाद प्रक्रिया अघि बढाउन आए । भारतीय प्रधानमन्त्रीले पठाएर रअ प्रमुख नेपाल आएका हुन् । को पठाउने भन्ने कुरा उहाँहरुको कुरा हो । आईसकेपछि हाम्रो प्रधानमन्त्रीले भेट्नुभयो । शिष्टाचार भेटबारे धेरै कुरा बाहिर आईसकेको छ । त्यसपछि भारतीय सेना प्रमुखको भ्रमण भयो । यो परम्पारगत भ्रमण हो । त्यसलगत्तै भारतीय परराष्ट्रसचिवको नेपाल भ्रमण भयो । यो उहाँको ईन्ट्रोडक्टर िभिजिट हो । उहाँ विदेश सचिव भएपछि पहिलोपटक आउनुभयो ।’
डा. भट्टराईले अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको विश्वास गरे । उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको छ । अब परराष्ट्रमन्त्रीस्तरीय भ्रमण हुन्छ । मलाई लाग्छ, यो डिसेम्बरभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठक बस्छ । बास्तवमा यो संयन्त्रको मिटिङ भनेको महत्वपूर्ण हो, भेटवार्ताको यो ठूलो र महत्वपूर्ण मेकानिज्म हो । यसमा सबै विषयमा छलफल हुन्छ । अस्ति दुई परराष्ट्रसचिवबीच सबै विषयमा छलफल भएका छन् । सिमा समस्याको बारेमा पनि छलफल भएको छ। अब परराष्ट्रमन्त्रीस्तरमा हुन्छ । यसले त्यो भन्दा बढि लेभलमा छलफल र भेटवार्ता हुन्छ ।’
त्यस्तै, उनले चीनसँगको सन्दर्भमा पनि अहिले सम्बन्ध प्रगाढ रहेको बताए । उनले भने,‘यो बीचमा थुप्रै सन्धि÷सम्भाmैता गरेका छौं । वर्तमान प्रधानमन्त्री हुँदा २०१६ मा एक हिसाबले ऐतिहासिक र दुरगामी असर पर्ने सन्धिहरु भएका छन् । दश बुँदे सन्धि जुन भयो, त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको त पारवाहन र यातायात छन् । नाकाहरु व्यवस्थित् गरेर लैजाने कुरा भएका छन् । रेलवेको कुरा छ । किमाथांका नाकाको ट्रयाक खोल्ने काम भैरहेको छ । दक्षिणजस्तै उत्तरसँगपनि कनेक्टिभिटिीमा जानुपर्छ । दुवै मुलुकबाट फाईदा लिएर अघि बढ्नुपर्छ । चिनियाँ रक्षामन्त्रीको हिजो सम्पन्न भएको भ्रमण रेसिप्रोकल भिजिट हो । गत वर्ष हाम्रो रक्षामन्त्रीले भ्रमण गर्नुभएको थियो । नेपाल भारतबीचको सम्बन्ध, स्वतन्त्र देशबीच स्वतन्त्र सम्बन्ध हो । चीनसँगपनि हाम्रो सम्बन्ध स्वतन्त्र हो । हाम्रा सम्बन्ध सबै मित्रराष्ट्रसँग त्यही आधारमा हुन्छन् । हामीले ‘सबैसँग मित्रता, छैन कोहीसँगपनि शत्रुता’ को रुपमा अघि बढाएका छौं ।’
नेता भट्टराईले आफ्नो पार्टीभित्रको आन्तरिक विवादलाई लिएर अहिलेको अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘यो खालको अवस्थामा नेकपा जानुहुँदैनथियो । जनताको म्याण्डेट पाँच वर्ष यो सरकार चलाउने हो । अस्थिरता दोहोरिन खोजेको हो कि आशंका छ । तर, मलाई लाग्छ अहिलेको विवाद सचिवालय बैठकले छलफल गरेर टुँगोमा पुर्याउँछ । सचिवालयले गर्न सकेन भने स्थायी कमिटीले गर्न सक्छ । सचिवालयको निर्णय काट्न सक्ने हैसियत स्थायी कमिटीसँग छ । त्यसले पनि सकेन भने केन्द्रीय कमिटी छ । त्यहाँ हुँदै महाधिवेशनमा जाने हो । अब महाधिवेशन समयमै गर्नुपर्छ, त्यो भन्दा दायाबायाँ जानुहुँदैन् । विग्रहको बाटोमा जाने छुट नेताहरुलाई छैन् । प्रचण्डको प्रस्ताव आरोपपत्र हो । अब फर्केर हामी भदौ २६ गतेको सर्वसम्मतीको निर्णय कार्यान्वयनमा पुग्नुपर्छ । भदौ २६ गतेको स्थायी कमिटीको सर्वसम्मत निर्णय नै हो अहिलेको विवादको समाधान । त्यसमा सबै नेताहरू आउनुपर्छ ।’

तपाइँको प्रतिक्रिया ।