मुक्ति : समिर अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
म आफूलाई सम्पूर्ण रूपमा स्यानिटाइज्ड गर्दै
नाक मुख मास्कले छोपी बाटोमा हिँड्दै थिएँ
सकेसम्म प्रतिरोधात्मक पार्दै आफूलाई
महामारीसँग चनाखोभइ भिड्दै थिएँ
तर,
बाटोमा हुल बाँधेर लठारीँदै हिँडेका
बिनामास्कका मानिसहरूको भीड देखेर मन सिरिङ्ग भयो
अलि परबाट हुँइकिँदै आइरहेको खचाखच भरिएको
बसमा ढोकामा झुण्डीएका मानिसहरूलाई देखेर आङ्ग जिरिङ्ग भयो
फेरि,
दायाँबायाँ सम्पूर्ण रूपमा खुलेका पसलमा
तँछाड मछाड गर्दै किन्नेहरूको भीड उस्तै
रेस्टुरेन्ट र चिया पसल अनि आइस्क्रीम पार्लरहरूमा
युवायुवतीहरूको घुँइचो त्यस्तै
झन्,
हिँड्दै जाँदा पार्टी प्यालेस र सिनेमा हलहरू पनि
सामान्य रूपमा खुलेका देखें
स्कूल कलेजका चउरहरूमा विद्यार्थीहरू
स्वच्छन्द रूपमा छ्यासमिस भइ डुलेका देखें
कस्तो अचम्म,
यस्तो अवस्थामा पनि
आज मैले यो कस्तो अनौठो दृश्यहरू देख्न पाएँ
मानौं,
महामारीबाट अछुतो अर्कै कुनै अमुक संसारमा म टेक्न आएँ
यत्तिकैमा,
एउटा मेरो पुरानो साथी
मलाईदेखि दगुर्दै आइ झ्याम्मै अँगालो हाल्यो
हेर कपाल त फुलिसकेछ भन्दै
मेरा फुलेका कपाल हातले सुम्सुम्याउन थाल्यो
अनायासै,
महामारीको त्रासले तर्सिएको म
आफ्नो मित्रसँग पनि तर्सिएर परपर सरें
झसङ्ग भई ब्युँझिएँ जब म
खाटबाट खसेर तल गलैँचामा झरें
साँच्चै,
सपनामा देखेजस्तै
सहज रूपमा हिड्ने डुल्ने दिन अब कहिले आउला
कहिले विश्वले यो कोरोनाको कहरबाट
सदाका लागि मुक्ति पाउला ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक