यो चंखे कोरोनाले गर्दा : पवन बुढाथोकी

यो चंखे कोरोनाले गर्दा : पवन बुढाथोकी

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

आफ्नो सर नपरून्जेल
कोरीको पनि पाउ पर्ने
तर
सामाजिक आर्थिक स्तरमा
बोसो लागे पछि टाढिने
अहिलेको समाजको चरित्र नै
जस्तो भएको छ !
सबैलाई हार्ने हैन
जित्न नै पर्ने
सधै नाफामा बस्न खोज्ने
ब्यक्तिवादी सोच
बलियो भै
अवसरवादी व्यवहार
छताछुल्ल हुँदै गएको छ !
निमुखालाई पेल्ने
बलियोको चाकरी गर्ने
प्रवृत्तिको भूत सबैमा
सबार भएको छ !
यस्तो बेलामा
वर्तमान समाजमा
बिकृती र विसङ्गतीले
बास गर्नु कुनै
आश्चर्यजनक कुरा होईन !
अहम् र घमण्डको आगो
दनदनी बलिरहेको
बर्तमान परिस्थितिमा
असामान्य र अमानवीय घटनाहरू
कतिन्जेल
हेर्न, देख्न र भोग्न पर्ने हो !
आगोमा घिउ थप्ने काम
असहज परिस्थिति निम्ताउने काम
उखरमाउलो र निर्दयी
कोरोनाले गर्दा
यहाँ पनि भएको छ !
धेरै मानिसहरू
आफ्नो पेसा, व्यवसाय
बन्द व्यापारबाट बन्चित
हुन पुगेका छन !
यस्तो परिस्थितिमा
मूल प्रबाहमा परेकाले त
जिनतिन धानिरहेका छन्
मूलप्रबाह बाहिर परेकाहरू
विक्षिप्त अवस्थामा छन !
यस्तो परिस्थितिमा
कल्पना भन्दा पनि बाहिरका गतिविधिहरू
न होलान् भनेर
भन्न सकिने अवस्था पनि छैन !
आफु र आफ्नालाई हातमुख जोर्न
विकृत क्रियाकलाप न गर्लान्
भनेरै किटान गर्न सक्ने
अवस्था छैन !
मानवियता, विवेक आदिले
डाँडा काटे बराबर भएको छ !
सबैमा धैर्यताको बाँध
जुनसुकै बेला नफुट्ला भनेर
भन्न सकिन्न !
जिम्मेवार पक्ष त्यति अनुशासित
मितब्ययी र धैर्यताको नमुना
बनेका उदाहरणहरू पनि हेर्न
र अनुभव गर्न सकेको छैन !
शिक्षा र स्वास्थ्य क्षेत्र त
भताभुङ्ग नै भएका छन !
विप्रेषण घट्दो छ
विदेशिएका मानिसहरू
काम बिहिन भै फर्कदैछन् !
यो भेल यस्तै पारा हुने हो भने
रोक्न सकिन्छ नै भन्ने
अवस्था पनि छैन !
उसै त
आफुभन्दा
निम्सरो देखेपछि टाढिने
हुने खानेका अगाडि
हुँदै नभएको नाता पनि
सोझ्याउदै जाने
प्रचलन मानिसहरूमा
बढदै गएको छ !
असमानता र विभेद खपिरहेको
वर्तमान अवस्थामा
झनै
भौतिक दूरी भन्नुको साटो
सामाजिक दूरी बढाउने
उद्घोष गरे पछि त
भएको घाउमा औषधी उपचारको साटो
नुनचुक छरे बराबर पो भयो !
एकले अर्कालाई शंका उपशंका
गर्ने सम्भावना बढ्यो !
विचरा ….
उमेरले डाँडो काटेकाहरू
जवान छोराछोरीलाई
स्वदेशमा गरि खाने
बाटो न देखेपछि
आर्थिक लोभमा
विदेस पठाई
वृद्ध अवस्थामा एक्लै
दयनीय जीवन गुजारिरहेका छन !
शारीरिक तथा मानसिक अवस्थाले बिक्षिप्त
अनि अनेक समस्या र
मारमा परेका असक्त
निमुखा, असहाय
बिपन्न व्यक्ति र परिबार
आफन्तको नजरबाट झनै
टाढा नै रहने नै भए
यसरी जो होचो
उसैको मुखमा घोचो भनेझै
बाल, वृद्ध र असहाय
यसरी
झनै जोखिममा पो परे !
यो चंखे कोरोनाले गर्दा
टाठाबाठालाई उपरि माथि थुपरि
निमुखाका बिल्लिबाठ भएको छ !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।