कान्तिपुरी महात्म्य :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १७।
ए ! कान्तिपुर खै तेरो कान्ति दुर्लभ भो किन ?
मान्छे धेरै थुपारेर आएका हुन् कि दुर्दिन ।
बाटो देखाउलास् भन्थ्यौँ देशैभरि परन्तु खै ?
बाटो तेरै हराएको देख्नु पर्दैछ बाध्य भै ।
दृष्टि हूँ देशकै ठान्दै भन्थिस् टाढा म देख्दछु
कालापानी कहाँ देखिस् पस्दा छिमेक सोध्दछु ।
हुन्नन् गरिब क्वै भन्दै गर्थिस् भाषण भीषण
देख्दैनस् पर कस्ता छन् गाउँले जन जीवन ।
उभ्याएर नयाँ नेता भन्छस् लौ अब हुन्छ क्यै
सोझ्याएर दुनो आफ्नो बाटो लाग्छन् सधैँ सबै ।
ऋण लिन्छस् गरौँ भन्दै कायाकल्प जताततै
मरुभूमितिरै पानी हाले जस्तो हुने कठै ।
कलेज स्कुल धेरै छन् भन्छस् ज्ञान पिलाउने
रोज्छन् भिषा लिँदै कुद्न कस्तो पाठ सिकाउने ?
बाँझा राखेर यी खेत किन्दै खान्छस् विदेशको
आत्मनिर्भर तैँ बन्ने कुरा गर्छस् मिठा अहो !
व्यस्त छन् दलका नेता स्वप्ना नाना फलाउँन
तँ कान्तिपुर त्यसैमा पुग्छस् ताली बजाउँन ।
काम हैन कुरा जोत्ने सिँहदर्बार ल्याउँछस्
चिल्ला गाडी उनैलाई दिँदै मख्ख रमाउँछस् ।
‘तमसा’ नामको फिल्म सधैँ हिट हुने भयो
जिल्ल छन् जनता सारा सिमाना अब कुर्छ को ?
तँ कान्तिपुर उठ् आफैँ हैन भने खरानी घस्
कुहिरोभित्रको काग बनेर कति बस्दछस् ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक