रक्षा मन्त्रालयको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं ,साउन १६।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा साउन १६ गते रक्षा मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक बसेको छ।
समीक्षा बैठकमा रक्षा मन्त्रालय¸ नेपाली सेना र सो मातहतका विभिन्न निकायहरूबाट सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको गत आर्थिक वर्षको समग्र वित्तीय तथा भौतिक प्रगति¸ आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू तथा राष्ट्रिय विकास समस्या समाधान समितिकोपछिल्ला तीनवटा बैठकहरूबाट भएका निर्णयहरूको कार्यान्वयन स्थिति सम्बन्धमा विस्तृत छलफल भएको थियो ।
समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेबीच मन्त्रालयले चालु आ.व. २०७७/७८ मा कार्यान्वयन गर्ने कार्यक्रमहरू तथा रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाबीच जंगी अड्डाले चालु आ.व.मा सञ्चालन गर्ने कार्यक्रमहरू सम्बन्धमा विभिन्न अनुगमन सूचक र परिमाणात्मक लक्ष्यहरू तोकी कार्य सम्पादन सम्झौता समेत भएको थियो ।
उक्त समीक्षामा नेपाली सेना अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमध्ये बंकरदेखि ब्यारेक कार्यक्रम, काली गण्डकी कोरिडोर र बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति १००%, कर्णाली कोरिडोर सडक निर्माण आयोजना र दार्चुला-घाँटीबगर गोरेटो सडक निर्माणको प्रगति ८०% भन्दा बढी रहेको जानकारी प्रस्तुत गरिएको थियो ।
त्यस्तै उक्त समीक्षामा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति कोभिड-१९ लगायतको कारण केही कम हुन पुगेको भए तापनि गत वर्ष द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भई तदनुसार एकीकृत योजना तयार हुनु, आयोजनाको ड्रइङ्ग डिजाइनिङ्ग, सुपरभिजन लगायतका कार्यका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट भई निजले कार्य प्रारम्भ गर्न थाल्नु जस्ता कार्यले चालु आ.व.देखि आयोजना निर्माणको कामले गति लिने जानकारी छलफलका क्रममा सम्बन्धित पदाधिकारीहरूले दिएका थिए।
उक्त समीक्षामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि जग्गा प्राप्ति तथा गठन आदेश स्वीकृति लगायतका महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएको व्यहोरा प्रस्तुत भएको थियो ।साथै, समीक्षा अवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको कार्ययोजना स्वीकृत हुनुका साथै सेनासम्बन्धी केही महत्त्वपूर्ण नियमावलीहरूमा संशोधन/परिमार्जन गर्ने कार्य सम्पन्न भएको व्यहोरा प्रस्तुत भएको थियो । समीक्षामा नेपाली सेनाबाट कोभिड-१९ रोगको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा भएका कार्यहरू, नागरिक सैनिक सम्बन्ध, सहयोग र सहकार्यका क्षेत्रमा हासिल भएका उपलब्धिहरूका साथै नेपाली सेनाको कल्याणकारी कोषबाट भए गरेका प्रमुख कार्यहरूबारे पनि छलफल भएको थियो । समीक्षामा गत आर्थिक वर्षमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट पूँजीगत खर्चतर्फ करिब ७८%रबेरुजु फर्छ्यौट तर्फ ६९.३% प्रगति हासिल भएको तथ्य प्रस्तुत भएको थियो ।
उक्त समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दा अन्तर-मन्त्रालय र अन्तर-निकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढङ्गले कार्यक्रम सम्पन्न गर्ने तर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिएका थिए ।
निर्देशनका क्रममा उनले काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजना¸विभिन्न सडक करिडोरको निर्माण तथा नेपाली सेनाको ब्यारेकदेखि बंकर कार्यक्रमलाई निर्धारित समयमै सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन तथा सेनालाई आवश्यक भौतिक साधन सम्पन्न तुल्याउन सम्बन्धित सबै निकायले आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र योगदान गर्न आवश्यक रहेको कुरा औँल्याएका थिए ।
सो समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. पुष्पराज कँडेलले समग्रमा रक्षा मन्त्रालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको कुरा औँल्याउँदै राष्ट्रिय गौरवको आयोजना तथा राष्ट्रिय महत्त्वका सडक कोरिडरहरूको निर्माणलाई समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षबीच समन्वय सुदृढ बनाई काम गर्न आवश्यक रहेको कुरा बताएका थिए । साथै¸ उनले राष्ट्रिय महत्त्वका सडक करिडोरहरू निर्माणका लागि आगामी दिनहरूमा पर्याप्त बजेट विनियोजन गर्नेतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिन आवश्यक रहेको कुरा बताएका थिए ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ रोगको संक्रमण नियन्त्रण गर्न लगाउनु परेको लकडाउन लगायतको कारणले केही कार्यक्रमको सन्दर्भमा कम प्रगति देखिएता पनि समग्रमा नेपाली सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको प्रगति उल्लेखनीय र सन्तोषजनक रहेको कुरा राखेका थिए ।
कार्यक्रम कार्यान्वयनका सन्दर्भमा सम्बन्धित सबै मन्त्रालय, निकायबाट भएको सहयोगका लागि धन्यवाद दिदै उनले नेपाली सेना अन्तर्गत असुल गर्नुपर्ने बेरुजु अत्यन्त न्यून रहेको विषयमा समेत स्पष्ट पारेका थिए। रक्षा मन्त्रालयका सचिव र उनि बीच सम्पन्न कार्य सम्पादन सम्झौता बमोजिम चालु आ.व.मा नेपाली सेनाबाट सञ्चालन गर्न निर्धारित कार्यक्रमहरू लक्ष्यबमोजिम सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्तगरेका थिए ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग¸ अर्थ मन्त्रालय¸ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका प्रतिनिधिहरूलेआ-आफ्नो मन्तव्य राख्नुभएको थियो । बैठकमा मन्त्रालयका कर्मचारीहरूका साथै कार्यक्रम कार्यान्वयनसँग सम्बद्ध विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।