लकडाउनको पहिलो दिन !

लकडाउनको पहिलो दिन !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १९ / शारदा पराजुली

विश्वलाई नै कोरोना भाइरसले सङ्क्रमित बनाइरहेको भयावह स्थितिबाट नेपालपनि अछुतो रहन सक्दैन भन्ने कुराको अनुमान सबैले गरेकै थिए । त्यस माथि झन् चाइनाबाट नेपालआएका एक विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि त सनसनी  नै मच्चियो ।

छिमेकी मित्रराष्ट्र चाइनाको उहानमा पहिलो चोटि देखिएको कोरोना भाइरस विल्कुलै नयाँ प्रजातिको हो भन्ने कुराको जानकारी विशेषज्ञले दिइसकेका थिए । यसलाई नोवल कोरोना भाइरस (कोभिड– १९) भनेर नामाकरण गरियो ।

चाइनामा देखिएको कोरोना भाइरस सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुँदायसले भयावह रूप लिन थालेपछि चीनले उहान प्रान्तमा लकडाउन गरेको थियो ।
यो भाइरसको सङ्कक्रमण दिन प्रतिदिन दोब्बर, तेब्बर र चौबर हुँदै बढ्न थालेपछि चीनले सात दिनमा नै एक हजार शैयाको अस्पताल बनाएर विश्वलाई नै चकित बनाएको समाचार पनि सुनियो ।

यो भाइरस चीनमा मात्र सीमित नभएर विश्वभरि नै फैलिँदै जान थाल्यो । दक्षिण कोरिया, इटाली गर्दै भारतमा पनि कोरोना भाइरसका बिरामी देखिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राख्यो । नेपालको पहिलो सङ्क्रमित निको भएर घर फर्किसकेका थिए । कोरोना चिनबाट फैलिँदै युरोप लगायत विकसित मूलुकमा तीब्र गतिमा पुगिसकेको थियो ।

यस कुरालाई मध्यनजर गरेर नेपाल सरकार, बुद्धिजीवी वर्ग तथा राजनीतिक व्यक्तित्व आदिका पहलमा नेपालका विभिन्न ठाउँमा क्वारेन्टिन र आइसोलेसन वार्ड स्थापना गर्न थाल्यो । गाउँ, टोल, सहर बजारका ठाउँमा पानीका ट्याङ्की राखेर साबुनपानीले हातधुने व्यवस्था गर्न थालिएका थिए । कोरोनाबाट बच्न सचेतनामूलक सन्देश प्रवाह ग रिरहेको थियो ।
चैत्रको दशगतेबाट लामो दुरीका यातायात नचल्ने निर्णय सरकारले गर्यो  । त्यसै दिन कतार एरवेजमा चढेर फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षिया किशोरीलाई कोरोना सङ्क्रमण भएको कुरा सरुवा रोग अनुसन्धान महाशाखा टेकु अस्पतालले प्रमाणित भएपछि जन–स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले नेपाल प्रवेश गर्ने सम्पूर्ण नाकाहरू बन्द गर्ने कदम चाल्यो । तर नेपालका पश्चिमी नाकाबाट नेपालीहरू भित्रिने क्रम रोकिएन । नेपालमा कोरोना सङ्क्रमणको पुष्टि हुँदै गर्दा इटाली, स्पेन, फ्रान्स र अमेरिकामाभने कोरोना भाइरसबाट हजारौँ मानिसले ज्यान गुमाइसकेका थिए ।
कोरोनाकै कारण चैत ६ गतेबाट सुरु हुने कक्षा आठको जिल्ला स्तरीय परीक्षा लगायत कक्षा एक देखि कक्षा नौसम्मको वार्षिक परीक्षा पनि फागुन २८ गतेबाटै सञ्चालन गरी चैत पाँचगते सम्ममा सिध्याउन सरकारले निर्देशन गरेको थियो । सोही बमोजिम परीक्षा सकियो । कोरोनाको सङ्क्रमण भयावह बन्न सक्छ भन्ने हेतुले होला ६ गतेदेखि सुरु हुने भनिएको एस. ई ई परीक्षा भने पाँचगते बेलुका स्थगित भएको थियो साथै सम्पूर्ण कलेजका पठनपाठन अनिश्चितकालका लागि स्थगित भएको थियो । चैत्र ११ गतेदेखि सरकारले एक हप्ताका लागि लकडाउनको
घोषण गर्यो  ।
लकडाउनको पहिलो बिहानी म अरू बेलाको भन्दा ढिलो उठेँछु । मर्डिङवाक जान नमिल्ने भएपछि किन चाँडै उठ्नु ? चाँडै उठेर गर्नु नै के छ र ? त्यही खाना बनाउने खाने न हो । आ, अरु बेला सधैँको हतारो । आराम गर्ने दिन पनि आए । मजाले आराम गरे हुन्छ झैँ लाग्यो । त्यसैले आँखा उघ्रिए पनि अल्छी गर्दै सुतिरहेँ ६ . ३० सम्म । उठ्दा त झलमल्ल घाम लागिसकेछ ।

उठेर मनतातो पानीमा कागती निचोरेर पिएँ । ‘लागेको बानी कसरी छोड्नु र ? मनले मन्दै मानेन त्यसैले ३० मिनेट जति आँगनमा वामवाक गरेँ । अनुलोम बिलोम, कपालभाती त सधैँ झैँ भित्रै बसेरै गरेँ । आठ बजेतिर घर सफा गर्ने, पोचा लगाउने काम सकेर खाना बसालेँ ।

खाना पकाउँदै गर्दा मोबाइल सुन्ने बानी नै बसेको छ मलाई । त्यसैले मोबाइलमा कोरोना अपडेट सुन्दै भान्साको रुमलो गर्न थालेँ । छिनछिनमा मोबाइलमा कोरोना अपडेट आइ नै रह्यो । कोरोनाको उद्गमस्थल चाइना भए पनि चाइनामा भन्दा इटालीमा धेरै मान्छे मरिरहेका समाचारहरू युटुवमा आइ नै रहेका थिए ।

मृत लासलाई व्यवस्थापन गर्नका लागि दुई ओटा ट्रक अस्पतामा तैनाथ रहेका कुराहरू, ढिला हुन पहिला विश्वले सुन्ने पर्ने कुराहरू, सुन्दा र युटुवमा हेर्दा भक्कानो फुटेर आउन थाल्यो । सम्पत्तिको पछि लागेर दौडने मान्छेलाई यस कोरोना भाइरसले ठूलै पाठ सिकाए जस्तो लाग्नथाल्यो । सुख सयलको खोजीमा सहर पसेका मानिसलाई गाउँले जीवनमा फकाएको अनुभूति भयो । रुसोले ‘प्रकृतितिर फर्क’ भनेको याद आउन थाल्यो । सधैँको हतारोले घरपरिवारलाई साथ नदिने मान्छेलाई पारिवारिक मेल गराएको र परिवारलाई पनि समय दिनुपर्छ भन्ने सवक सिकाउँदै छ ,भन्ने लाग्यो ।
खाना खाइसकेर कम्प्युटरमा बसेँ, स्रष्टा पदयात्रा जाँदा टिपेका टिपोटलाई मूर्त रूप दिन । पैँतीसौँ पदयात्रा बालाजु बाइपास हुँदै ककनीसम्म र त्यहाँबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै काभ्रेस्थली को ताराकेश्वर सम्म पदयात्रा गरेको कुरा लेख्ने जिम्मा मेरो भागमा परेकाले लेख्य सामग्री काँटछाँट गरी सुन्दर बनाउने प्रयास गर्न थालेँ । कम्प्युटरमा निर्लिप्प हुँदा समय चिप्लेको थाहै हुँदैन । ‘भोक लाग्यो खाजा खाऊँन’ भन्दै छोरीले भोकको सङ्केत गरेपछि भान्सामा पसेर चिया, खाजा बनाउन थालेँ । लेख्न र पढ्न कति छ कति ।

पुस्तकको अथाहा जलाशयमा निमग्न भएर क्रीडा गर्न मन त छ नि तर गृहिणी न परेँ । बेला बेला उठेका छालहरूले उचालेर क्रमबद्धता नै भङ्ग गरिदिइ हाल्छन् । ‘दालमोट चिउरा र चियाको खाजा’ छोरीलाई चित्त बुझ्दैन । म उनलाई सम्झाउँदै भन्छु “यो कोरोना भाइरसले बिगार मात्र गरेको छैन सवक पनि सिकाएको छ छोरी ।

तिमीहरू जस्ता पिज्जा, वर्गर, रामेन, चाउमिन, मःम, चाउचाउ, पानीपुरी, चट्पटे खानेहरूलाई हाम्रो देशका प्रचलित खाजाहरू दही चिउरा, सातु, खुदोखट्टे, चिउरा, भुटेका मकै भट्मास, साँधेको गुन्द्रुक, कनिकाको पुवा, फापरको रोटी आदि खान सिकाउँदै छ । छोरी मेरा कुरा सुनेर नाक खुम्च्याउँछिन् । मलाई छोरीलाई जिस्क्याइरहन मनपर्छ ।

खाजाको रुमलो सकेर मैले साबुन पानीले हातधोए र कथा लेख्न बसेँ । अहँकथा त पटक्कै फुर्दैन बरु कहिले कहिलेदेखि मनमा दबेर बसेका कुराहरू लघुकथाका रूपमा प्रकट हुन्छन् । गोडा चारेक लघुकथा लेखेँ ।
कापीमा लेखेको कुरा कम्प्युटरमा साफी नगरी चित्तै बुझ्दैन । म चारओटा लघुकथा टाइप गरेर बाहिर निस्के । घरपेटी आमाको इच्छा फुर्सदमा गमलामा खनखानपारी मलहाल्ने र फूल रोप्ने । आफ्नै कोठा अगाडि रहेका फूलमा मल पानी गरेर साबुनपानीले हातधोए । मान्छेको मन नै त हो । मोबाइलमा हात जान्छ ।

उही कोरोना भाइरसको समाचार लकडाउनको पालन भए नभएका कुरा, लकडाउन हेर्न निस्किएका मानिसलाई पुलिसले लट्ठी हानेका कुरा हेर्दा हेर्दै समय बितेको चालै पाइँन । फेसबुक चलाउँदा चलाउँदै एउटी साथीको कमेन्टमा आँखा पुग्छन् ‘मैले त चक एण्ड डस्टर’ फिलिम हेरेँ । निकै राम्रो लाग्यो । तपाईँहरू पनि हेर्नु होला ।’ मलाई सो फिल्म हेर्ने हतारो भयो । युटुवमा सर्च गरेर चक एण्ड डस्टर हेरे । घडीमा आठ बजी सकेछ । भान्सामा छिरेर बेलुकाको खानाका रूपमाथुक्पाको सुप बनाएँ ।

आठ बजेको समाचार सुन्दै श्रीमान् र छोरीका साथमा थुक्पाको सुप खाएँ । समाचारमा देखाउँछ ‘लक डाउनको पहिलो दिन सडकहरू सुनसान, ठाउँठाउँमा निशेधाज्ञा अवज्ञा गर्नेलाई पक्राऊ गरिएका कुराहरू । भारतबाट ठूलो सङ्ख्यामा आएका नेपालीहरू गड्डाचौकी र गौरीफन्टा नाकामा अलपत्र, भोलिदेखि लकडाउन अझ कडा बनाउने सरकारको तयारी, कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १६५६३ पुग्यो र सङ्क्रमितको सङ्ख्या ३,६४५५२ पुगेको कुरा विश्व सङ्गठनबाट पुष्टि ।’ समाचार हेर्दा हेर्दै कतै निषेधाज्ञा तोड्नेलाई प्रहरीले कुटेको देख्दा खुचिङ भन्न मन लाग्छ त कतै–सानानानी बोकेर हिँडेका मानिस देख्दा मातृत्व छचल्किएर आउँछ ।
समाचार हेरिसकेपछि लाग्छ– ‘विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजलको जेल जीवनमा बसेर त्यति सुन्दर छ वटा उपन्यास लेखे भने हामीले त घरमै बस्न पाएका छौँ मन लागेका भावनापोख्न पाएका छौँ ।’ यसबेला केही लेख्नुपर्छ हामीले पनि । मन लागेको खान पढ्न पाएका छौँ । समय बगेर गइरहेको
छ । यदी मैले केही लेखेँ भने दरसन्तानले पढ्न पाउलान् । हाम्रा पितापुर्खाले भोगेको नियति भनी । हजुरआमाले भोगेको १९९० सालको भुकम्प, विफरको महामारी, औलोको महामारी सुन्दामलाई कथा सुनेजस्तै लाग्थ्यो, चाख मानेर सुन्थेँ म । मैले पनि मेरा सन्तान दरसन्तानले कथाको प्लट तयार बनाउन सकून् भन्ने हेतुले संस्मरण लेख्न थालेँ । जसको शीर्षक दिएँ ‘लक डाउनको पहिलो
दिन ।’ एवम् रितले लेख्दै गएँ लकडाउनको दोस्रो दिन…………तेस्रो दिन ……………।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।