प्रकृती फेरिएको बेला(कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख २० /प्रकाश अधिकारी
ऊ आफ्नै चिनारी बोकेर
समयको घडीसँगै
एकनासले
घुमिरहेको हुन्छ
महसुस त यतिखेर हुँदो हो
प्रकृतिलाई पनि
आफैं हराए जस्तो
लालिगुराँसको जवानी फक्रिएर
डस्नेहरु नहुँदा
फूल डालीमै जगमगाएको होला
पूर्ण जीवन बोकेर
मान्छे बाँधिएर बसेको बेला ।
शीतका थोपाहरुले पनि
पातबाट भुइँमा झर्नु परेन होला
दोबाटा र गल्लीहरु पनि
सुनसान होलान्
कोलाहलले
छेदन गर्न नसकेको बेला ।
छातीमा रगत
पोखिँदाको पल
बिर्सिएर सडक
निदाएकै होला यतिखेर।
सुनसान होला
आर्यघाट पनि
चिता बिनाको बगर पाएर ,
नदीहरु पनि स्वच्छ होलान्
अकालका मृत्युहरु
बगाउँदै बग्नु नपर्दा ।।
धुवाँ धुलो बोकेर
उडिरहने हावा पनि
स्वच्छ र शान्त वहँदो हो
यतिखेर ।
मट्याङ्ग्रा र गुलेली बोकेर
हिडेँको सिकारी नदेख्दा
आकाशमा स्वतन्त्र उड्ने
चराहरु पनि रमाएका होलान
मान्छे थुनिएर बसेको बेला
प्रकृतिसँग ।।