लकडाउनको फुर्सदमा पढ्नै पर्ने केही नेपाली उपन्यासहरु -१
कपन अनलाइन
काठमाडौं ,बैशाख ५ / प्रशुराम अधिकारी
अहिले कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । मानिसको मनमा त्रास छाएको छ । भाइसर भयाबह रुपमा नफैलियोस् भनेर देश अहिले लक डाउनको अवस्थामा छ । अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन निषेध छ ।
मानिसहरु आफ्नै घरमा बन्दीका रुपमा रहेका छन् । यस्तो बेला मानिसहरुलाई मनोवैज्ञानिक त्रास त छँदैछ साथमा फुर्सद पनि छ । अधिकांश मानिस खाने, सुत्ने र आफ्नो अमूल्य समयलाई निरर्थक कार्यमा खर्च गरी बिताइरहेका छन् । एकफेर आएको समय फेरी फर्केर आउँदैन । त्यसैले जीवन प्राप्त अमूल्य समयलाई अधिकतम रुपमा असल कार्यमा खर्च गर्न सक्नु पर्दछ ।
पढ्नु, बुझ्नु, ज्ञानको दायरा बढाउनु वास्तवमै उत्तम काम हो त्यसबाट समाजलाई योगदान अवश्य नै हुन्छ । पछिल्लो समय नेपालमा पठन संस्कृतिको विकास भइरहेको छ ।
पुस्तक प्रकाशनमा पनि बाढी आइरहेको छ । धेरै किसिमका किताबहरु प्रकाशनमा आइरहेका छन् । ती सबै किताबहरु पढेर सम्भव छैन । सबै किताबहरु रुचि र ज्ञानका दृष्टिले उत्कृष्ट पनि हुँदैनन् त्यसैले आफुलाई रुचि लागेका उत्कृष्ट पुस्तकहरु कसरी छान्ने त धेरैमा यस्तो द्विविधा हुन सक्छ तसर्थ अहिलेको फुर्सदको समयको सहि सदुपयोगका लागि मैले पढेका केही पढ्नै पर्ने नेपाली उत्कृष्ट उपन्यासहरुको चर्चा गरेको छु । प्रस्तुत कृतिहरु नेपाली साहित्य कोशेढुङ्गा हुन भन्ने मलाई लागेको छ ।
पागल बस्ती
वरिष्ठ साहित्यकार, नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठद्वारा ४० को दशकमा लिखित र साझा प्रकाशनले बजारमा ल्याएको एक बहुचर्चित उपन्यास हो पागलबस्ती । वि.सं. २०४८ सालको मदन पुरस्कार प्राप्त यो कृति नेपाली आख्यान क्षेत्रको एक माइलस्टोन कृति हो ।
शुन्यवादी दर्शनमा आधारित भएर लेखिएको यो उपन्यास सम्पूर्ण दृष्टिकोणले उत्कृष्ट छ । नेपाली साहित्यप्रेमीहरुमाझ लोकप्रिय यो उपन्यास नपढ्ने साहित्यप्रेमी सायदै भेटिन्छन् । आदर्श प्रेम र अहमपूर्ण जीवनको सङ्घर्षमा आख्यान र दर्शनको सुन्दर संयोजनबाट सिर्जित अद्भुत बस्ती सभ्यताको उत्थान र पतनसम्मको वर्णनले रोमाञ्चक बनेको उपन्यास आफ्नो जीवनकालमा कम्तिमा एकचोटी पढ्नै पर्ने पुस्तक मध्ये एक हो ।
शिरिषको फूल
विशिष्ट महिला साहित्यकार पारिजातद्वारा रचना गरिएको पहिलो उपन्यास हो शिरीषको फूल । बि.सं. २०२२ सालको मदन पुरस्कार प्राप्त यो कृति अङ्ग्रजीमा समेत ‘द ब्लु मिमोसा’ का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममासमेत समावेश छ । यस कृतिको चलचित्र पनि बनाइएको छ ।
विसङ्गतिकाबीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ । दशवटा उपन्यासकी धनी पारिजातको ‘शिरीषको फूल’ सार्वाधिक चर्चित उपन्यास हो ।
अस्तित्ववादी – विसंगतिवादी जीवन दर्शनलाई अत्यन्त कलात्मक शिल्पमा बुनिएको यो उपन्यास मनोवैज्ञानिक दृष्टिले पनि उत्तिकै विवेचनीय लाग्दछ । यस उपन्यासको मूल शक्ति भन्नु यसको दार्शनिक ओज नै हो । यो उपन्यास पारिजातको जीवनको मात्र सर्वाधिक चर्चित कृति होइन, आधुनिक नेपाली उपन्यासको सिंगो इतिहासमै यो एक विशिष्ट प्राप्ति हो ।
सुम्निमा
नेपाली राजनीति र समाजवादी आन्दोलनका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको उपन्यास सुम्निमा नेपाली साहित्यको एक उत्कृष्ट कृति हो ।
सुम्निमा आर्य र किरात दुई भिन्न संस्कृतिको समन्वय र सम्मिश्रणको गाथा हो । उपन्यासमा दुई फरक संस्कारका मानिसहरुको प्रेमको सेरोफेरोमा यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । पछिल्लो समय केही विवादमा तानिए पनि यो उपन्यास पढ्नै पर्ने एक उत्कृष्ट उपन्यास हो ।
उलार
नयनराज पाण्डेको चर्चित उपन्यास उलार पश्चिम तराईको निम्न वर्गियहरुको कथा भन्ने एउटा सशक्त उपन्यास हो । उपन्यासले तत्कालिन नेपाली समाजको मनोविज्ञान र राजनीतिक चरित्रको चिरफार गरेको छ । आञ्चलिक भाषको प्रयोग र तिख्खर विम्वहरुका साथ समाजको कठोर चित्रको प्रस्तुतीले लघु उपन्यास भए पनि नेपाली उपन्यास र साहित्य क्षेत्रमा महत्वपूर्ण कृतिको स्थान बनाएको छ ।
योगमाया
निलम कार्की ‘निहारीका’द्वारा लेखिएको र वि.सं. २०७४ सालको मदन पुरस्कार जित्न सफल उपन्यास योगमाया ऐतिहासिक पृष्ठभूमिलाई स्थलगत भ्रमण, सजीव पात्रहरु भेटेर अध्ययन गरेर लेखिएको सजिव कथा हो ।
आजभन्दा करिक सय वर्ष अघिको नेपालको पूर्वि क्षेत्र भोजपुरमा राणा कालिन शासनकालमा भएका सामाजिक कुरिती, कुसंस्कार, भेदभाव र ज्यादतीको विषयमा आवाज उठाउने र समाजलाई प्रशिक्षित गर्ने एक सामाजिक योद्धा योगमायाको जीवन र सङ्घर्षको कथालाई सचित्र वर्णन गर्ने उपन्यास हो योगमाया । यो एउटा पढ्नै पर्ने उत्कृष्ट उपन्यास हो ।
रणहार
मल्कालिन इतिहास समेटेरर लेखक योगेस राजले लेखेको उपन्यास हो रणहार । नेपालको मल्लकालिन इतिहास, कला र संस्कृति बुझाउन यो उपन्यास सफल छ । हामीले हाम्रो इतिहास, पढेनौ र जानेनौ भने हाम्रो अगाडिको बाटो तय गर्न सक्दैनौ ।
यो पुस्तकले हामीलाई यही ज्ञान दिलाउँछ । वि.सं.२०७५ सालको मदन पुरस्कार प्राप्त यो पुस्तक सम्पूर्ण हिसाबले उत्कृष्ट र पढ्न योग्यमध्ये एक पुस्तक हो । २५० वर्षअघिको भक्तपुर सहर र यसका राजा रणजित मल्लको जीवन वर्णन यो पुस्तकमा पाइन्छ । सो समयको नेपाली कथालाई अहिलेका पाठकहरुलाई आख्यानीकरण गरेर सजिव प्रस्तुत गर्नु यसको सफलता हो । पुस्तकले पुरानो भक्तपुरलाई जीवन्त प्रस्तुत गरेको छ ।
दमिनी भीर
आख्यानकार राजन मुकारुङद्वारा लिखित दोस्रो उपन्यास हो । सत्ताइतरको आवाजलाई प्रखर रुपमा उठान गर्ने सशक्त लेखक मुकारुङले १० वर्षे माओवादी सशस्त्र सङ्घर्षको शान्तीपूर्ण राजनीतिक अवतरण पछीको संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञान र कार्य व्यवहारलाई नौलो शैलीसहित यथार्थ चित्रण गरीएको यस उपन्यास २०६९ सालको मदन पुरस्कार प्राप्त कृति हो ।
(साभार : कपन बानेश्वर साहित्यिक साप्ताहिक )