बाको चिठ्ठी छोराको प्रतिउत्तर !

बाको चिठ्ठी छोराको प्रतिउत्तर !

कपन अनलाइन

काठमाडौं ,माघ १७/राम आचार्य पुष्पप्रेमी/  कविता
पुज्यवर बा !
सादर ढोग,
खुशी लाग्यो त्यहाँको
पत्र पाउँदा,
मन भरी आशा पालेका रहेछौ
सेतै फुलेका रहरहरु साँचेर ।
सहाराको सुकुल बिछ्याएछौ
पिँडी भरी
झिकेछौ
म आउँदा अल्झाउने
ती ब्यबधानका गरालाहरु ,
मुठ्ठीभरी आशा साँचेछौ
समयको बुई चढेर ।
तर बा… !
म यहाँ आफ्नै बाध्यताको
जंजिरमा बाँधिएकोछु,
मान्छेले समयलाई होईन
समयले मान्छेलाई लखेट्दो रहेछ ।
सायद उसबेला मलाई
संस्कार र संस्कृति भुलेर
परिवर्तनको लहडसँगै
ठुलो मान्छे बन्ने
महत्वकाँक्षाको भारी बोकायौ
मेरो बोली नै फुटेको थिएन होला
आफ्नो र पराई छुट्याउने
सामथ्र्य भएको थिएन
असल छोरा भन्दा
छोरा ठूलो मान्छे बन्ने
आशीर्वाद फलाक्दै
मेरो कलिलो टाउको माथि
हात राखिदियौ,
तिम्रो पाखुरीको साहारा बिना
तङ्ग्रिनै नसक्ने बेलामा
बा होईन ड्याडी बन्ने रहरले
हातमा डो¥याउँदै पु¥यायौ
बिरानो शहरमा ।
अनि एक्लै छोडेर
विद्वान सन्तानको बाबू बन्ने
सपनाको कुम्लो बोकेर
फर्कियौ गाउँ बस्तितिर ।
अब मसँग
न तिम्रो परिचय छ
न त गाउँ घरको चिनारी ।
भो बा..!
अब फर्कन्न त्यो गाउँ ।

सम्झना नै छैन मलाई
त्यो पाखा पँधेराको,
भुलिसकें अब
मेरा खेत, बारी र घरको आकृति ।
अलि अलि याद आउँछ
आमाले रातो फरिया र
निलो पछ्यौरी ओडेको,
त्यहि पछ्यौरीको सप्कोले
आँखामा आँसु पुछ्दै
मेरो पछि पछि
बारीका डिलसम्म आएर
बिदाईका हात हल्लाको ।
त्यसैले त भो बा…!
अब फर्कन्न त्यो गाउँ।

अब मैले
खुकुरी बोकेर
डालेघाँस झार्नु छैन
हँसिया लिएर
खरुकी फाँड्नु छैन
किन कि तिमीले
मलाई गाईगोठ पाल्नै सिकाएनौ,
हल गोरु पाल्नु पनि छैन
किन कि
मलाई जोत्नै सिकाएनौ,
घर र मटानमा कमेरो पोत्न आउँदै
किन कि मलाई
माटोसँग खेल्नै दिएनौ
भो….!
बरु बाँझै रहुन
मेरा बारीका पाटाहरु
अनि सिमसार खेतका
आँठा र फोक्टाहरु
पलाए पलाओस् बरु
घुरेनमा झाडी र जंगलहरु ।
भो बा….!
अब फर्कन्न त्यो गाउँ ।

अब म
रमाई सकें स्वदेशकै शहरमा
धनी बन्ने लहडमा
फँसेकोछु बिदेशी शहरमा ।
थाहा छैन मलाई
कुन रुखमा दाल, चामल फल्छ,
कुन सडकमा
ईस्कुस, आलु र फर्सी फल्छ
भोक लाग्दा पेट छाम्न जानेकोछु
खान पाउँदा
काँटा चम्चा चलाउन सिकेकोछु
निन्द्रा लाग्दा गलैंचामा
सुत्न थालेकोछु ।
बोर लाग्दा
डिस्को र क्याफेमा नाच्न जानेकोछु
अब चिन्दैनन् मलाई
त्याहाँका
हाक्पारे, पालम र सोह्रठीले ।
त्यसैले भो बा…!
अब फर्कन्न त्यो गाउँ ।

थाहा नै छैन मलाई
छर,छिमेक र बन्धु,बान्धवको
अर्थ र परिभाषा,
सिकेकै छैन
गाउँ बस्ति र पाखा पखेरीसँग
साईनो लाउन ,
प्रभुकै प्रार्थना काफी छ
चाहिदैन मलाई
शिव पार्वतीको मन्त्र र
सुम्निमा पारुहाँङको उपदेश ।
बुझेको छैन
पर्म, परेली र हौलीको रहस्य ।
एउटै अंकल चिन्छु
चिन्दिन पल्लाघरका काका र
माथिल्ला घरका बडीबालाई ।
सम्झनै आउँदैन
मावलका जीबा र जिजुआमाको ।
आन्टीको मात्र याद आउँछ
भुलिसकें
पल्ला गाउँकी फूपू र
सानीमालाई ।
कहाँ जानेको छ र ?
दिदी बहिनीले जस्तो
डोको, नाम्लो र
घाँस दाउरा गर्न,
फुम रहेन
खमारे गह्रामा धानको
कुनियुँ ठडिएको
अनि आगनको छेउमा
थाङ्ग्रोमा मकैको
झुत्ता अडिएको,
असारे र बरदो भाकाहरु
सुन्नै बोर लाग्छ ।
त्यसैले त भो बा…!
अब फर्कन्न त्यो गाउँ ।

तपाइँको प्रतिक्रिया ।