छोरो म नेपालको
कपन अनलाइन
काठमाडौं ,पौष २६/त्रिलोचन आचार्य
यो माटो लय हो र गीत यसको गाएर रम्ने म हूँ
चोखो काख छ यो म भन्दछु यहीँ ढुक्कै निदाई रहूँ
जैले देख्दछु यैँ अनेक सपना विश्वासको ताल यो
प्यारो मान्दछु देश यै प्रिय सधैँ, छोरो म नेपालको ।
हाँसे पर्वत टाकुरा हर–पला चम्कन्छ मेरो मन
बाटो उन्नतिको खुलाउन सधैँ लम्कन्छ मेरो मन
मै गम्कन्छु फुरुक्क भैकन खुले भै पूmलझैँ लाल यो
आफ्नै प्राण समान मान्छु जग यो, छोरो म नेपालको ।
राखी चित्त विशे कुनै कुटिलता कोही नआऊन् यता
सीमा सार्छु भनी सरी छल गरी कोही नधाऊन् यता
गोर्खाली जनको दरो अनि खरो आवेग नै चाल हो
बन्दै छाल कदापि उठ्नु नपरोस्, छोरो म नेपालको ।
हो स्वतन्त्र सधैँ छ, शान यसको झुक्दा रमाउन्न म
मीठो खान भनी अनेक सहने बाटो समाउन्न म
यै यौटा खुकुरी बुझुन् सब सयौँ बन्दूकको नाल हो
सम्भूmन् हो बलभद्र औ अमर यै, छोरो म नेपालकोे ।
मै आफैँ हँसिलो हिमालय बनी उठ्नेछु होस् मित्रता
आफैँ भक्ति बनेर निर्भय डटी, लड्ने छ मेरो कथा
काली देख्दछु लिम्पियातक म ता, बाँकी कुरा जाल हो
सुस्ताको लिपुलेकको निडर यो, छोरो म नेपालको ।