कपनमा गगन थापालाई सुन्न ५००० भन्दा बढिको भीड
कपन अनलाइन ०७० कार्तिक २३
‘भोट फर गगन थापा’
चर्चित र्याप गायक गिरिश खतिवडाले यो र्याप गीत प्रस्तुत गर्दा झमक्क साँझ परिसकेको थियो तर कपनवासी तथा क्षेत्र नं. ४ का हजारौं कांग्रेस समर्थक भने झुमिरहेका थिए गगनका नाममा । अँध्यारोले गिरिश कस्तो स्वरुपको मानिस थिए भन्ने भीडले थाहा पाउन सक्ने अवस्था थिएन । आज कपनमा आयोजित नेपाली कांग्रेसका युवा नेता गगन थापाको पहिलो चुनावी सभामा यस्तै माहौल थियो । कपनको इतिहासममै सबैभन्दा धेरै मानिस जम्मा भएको चुनावी सभामा गगन थापालाई सुन्न करिब ५००० मानिस उपस्थित थिए । कपनको प्रसिद्ध ह्याण्डबल चौरमा आयोजित चुनावी सभामा साँझसम्म गगन थापालाई यस क्षेत्रका जनताले मग्न भएर सुने । उनीसँगै यसै क्षेत्रबाट समानुपातिकमा उम्मेदवारी पाएका राजु श्रेष्ठ तथा राधा घलेलाई पनि जनताले सुन्न पाए ।
कार्यक्रमको सुरुवातमै संचालक बद्रि भट्टराईले नेपालको भविष्य तथा नेपाली जनताको आशाको केन्द्र भनेर गगन थापालाई विशेषण दिँदा झुमेका उपस्थित जनताहरुमाझ शशि विक्रम थापाले आफैले रचेको लोक भाकाले भरमग्दुर मनोरन्ज गराएका थिए । बिहान ७ बजेदेखि कपनमा नै व्यस्त रहेका गगन थापा कपनको घरदैलोपछि समय मिलाएर भक्तपुर २ मा आफ्नै पार्टीका समकक्षी रामेश्वर ढुंगेलको पक्षमा भोट माग्न पुगे । भक्तपुरबाट फर्कने क्रममा ३ बजेबाट सुरु भएको आफ्नो चुनावी सभामा भने उनी समयभन्दा करिब १ घण्टा ढिलो करिब ४.१५ आइपुगेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै थापाले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत दिई स्थायी सरकार र लोकतान्त्रिक संविधान सुनिश्चित गर्न आम मतदाताहरुलाई आग्रह गरे । यस संबिधान सभाले धेरै विषयहरुको छिनोफानो गर्नुपर्ने भन्दै उनले विगतको द्वन्द्व सही वा गलत थियो भनेर मतदानमार्फत फैसला गर्न काठमाडौं क्षेत्र नं ४ सहित देशभरका मतदाताले गर्नुपर्ने आवश्यकता औंल्याए । गगन थापाले उपस्थिति ५००० जनतामाझ भने, काठमाडौं लगायतका देशभरका मतदाताले भन्नुपर्छ, हामी युद्धको पक्षमा थिएनौं । हामी न्याय सद्भाव समानता विकासका पक्षमा थियौं र छौं ।
नेपाली कांग्रेसका केन्द्रिय समेत रहेका प्रखर वक्ताको रुपमा चिनिले थापाले गरिबीको नाममा राजनीति गरिरहेका दलहरुप्रति लक्षित गर्दै भने, हामी गरिबको पार्टी हैनौ, हामी सबैको घर बनाउन चाहन्छौं । तर एकीकृत माओवादी आफूलाई गरिबको पार्टी भन्छ र जनतालाई सधैं गरिब नै राख्न चाहन्छ । हामी सबैलाई रोजगारीको व्यवस्था गर्न चाहन्छौं । थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, धर्म तथा जातको नाममा मिलेर बसेको समाजमा विभाजन ल्याउने तथा एउटै देशभित्र पनि दुई दर्जाको नागरिक बनाउने कामप्रति सचेत रहनु पर्छ । पहिलो चुनावी सभालाई सम्बोधन गर्दा ४७ मिनेट बोलेका थापाले यदि क्षेत्र नं ४ का जनताले अवसर दिएमा निरास नबनाई आगामी चार वर्षसम्म सम्पूर्ण मतदाताहरुको आवाज बनेर बस्ने वाचा गरे । आफूले सभासदको रुपमा प्राप्त गर्ने तलबलाई आम नागरिकहरुको सहज पहुँच पुग्ने गरी साँसदले पाउने तलब सुविधाबाट अतिरिक्त साँसदको कार्यालय स्थापना गर्ने वचनवद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति न्हुच्छेनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार द्वय राजु श्रेष्ठ र राधा घलेका अलावा आत्माराम पौडेल, विद्यार्थी नेता पिताम्बर भण्डारीलगायतले बोलेका थिए । कार्यक्रममा कलाकारद्वय अविनाश घिसिङ र राधिका हमालले पनि आफ्ना प्रस्तुतिमार्फत नेपाली कांग्रेसको पक्षमा भोट मागेका थिए ।
-फोटोः बसन्त गौतम र कपिल ढकाल