त्यो र यो अनुसन्धान विधि !

त्यो र यो अनुसन्धान विधि !

कपन अनलाइन

काठमाडौं, पुस ४/ डा. गोबिन्दशरण उपाध्याय

पश्चिमा शिक्षा पद्धतिमा पढेलेखेका विद्वानहरूले अंग्रेजी भाषा लेखिएको सामग्री बाहेकका ज्ञान(पद्धतिलाई “विज्ञान सम्मत, प्रमाणिक, अनुसन्धान गरिएको तथा स्वीकार योग्य” मान्न महाभारत नै पर्छ । उनीहरूका नजरमा सुकरात त मूल्यवान ठहरिन्छन् किनभने उनको अंग्रेजीले अस्तित्व स्वीकार गरेको छ तर महर्षि कपिल अस्वीकृत हुन्छन् किनभने उनले आफ्ना विचारहरू संस्कृतमा लेखेका थिए ! अंग्रेजी भाषामा लेखिएका वा अंग्रेजले गरेका असल अनुसन्धान सधैं स्वीकार्य हुनुपर्छ तर अंग्रेजी बाहेकमा लेखिएका अनुसन्धानहरू “विश्वासयोग्य हुँदैनन्, पश्चिमाहरूले तोकेको अनुसन्धान प्रणाली अक्षरसः पालन गरेका छैनन् ।”

अंग्रेजी कितावहरू उद्धरण गरेका छैनन्“ भन्ने दास–मानसिकता मौलिक शिक्षाको विकासका लागि निकै घातक हुन्छ । नेपालमा संस्कृत, पाली वा अन्य भाषामा लेखिएका प्राचीन कृतिलाई लिएर अनुसन्धान गर्ने पद्धति निरुत्साहित हुनुमा यस्तै केही दास–मानसिकता भएका “गाइडहरू” हुन् ।
आफ्ना तथाकथित “अनुसन्धान कृतिहरूमा“ ब्रिटिश पुस्तकालय तथा अमेरिकन–युरोपियन लेखकहरूको भरमार “कोट” गरेर “ठालु” पल्टिन्छन् तर नेपालकै आर्काइभ–सेन्टरमा हजारौं वर्ष प्राचीन हस्तलिखित पुस्तकबाट प्राथमिक सोर्स उद्धरण गरेर प्रस्तुत गरिएका अनुसन्धान सामग्रीलाई सिधै रिजेक्ट गर्छन् । आफु त प्राथमिक सोर्सको पहुँचमा छैनन् तर परिश्रम गरेर सोर्स जुटाएर लैजाने अनुसन्धाताको परिश्रमलाई समेत अपमान जनकतवरले रिजेक्ट गर्छन् । मथुरा–वृन्दावनको भौतिक अस्तित्व हुँदाहुँदै त्यो “म्याथ” भनेर अस्वीकृत हुने तर इजरायलको जरुसेलम चाहिं “म्याथ” नहुने र स्वीकृत हुने ?
आचार्य शंकरले आठौँ शताब्दिमा ३२ बटा भाष्यग्रन्थहरू लेखेका थिए । ती ग्रन्थहरू आज पनि उपलब्ध छन् । ती सबै ग्रन्थहरूमा उहाँले आफुभन्दा पहिला गरिएका कृतिहरूको ऊद्धरण गरेकै छन् ।

रामानुज, निम्वार्क, माध्व, मण्डनमिश्र जस्ता हजारौं विद्वानहरूले सूत्रग्रन्थहरूको सप्रमाण ब्याख्या गरेका छन् । उदाहरणका लागि पाणिनीको अष्टाध्यायिमा लघु, मध्य, सिद्धान्त र पातन्जल जस्ता ठूलो र साना आकारका अनुसन्धान कृतिहरू लेखिएका छन् । अनुसन्धान निर्देशक गुरूहरूले यो प्राचीन पद्धति वारे पनि बुझुन् । APA/MLA मोडेल मात्र रिसर्चका निर्विकल्प हुन् भन्ने मानसिकता उचित होइन । उपरोक्त मोडेल नहुँदा पनि रिसर्च भएका थिए । ठूलोठूलो कुरा गरेर आकाशपाताल जोड्नेले आफ्नो प्राचीनतामा फर्केर कसरी अनुसन्धान गरिंदो रहेछ भने हेर्ने, बुझ्ने प्रयत्न गरूँन् ।
अनुसन्धान प्रक्रियामा विज्ञानसम्मत विधि त्याग्नुपर्छ भन्ने मूर्खतापूर्ण कुरा मैले गर्दिन । तर विज्ञान र बैज्ञानिक विधि केवल र केवल पश्चिमाहरूको मात्र विश्वासनीय र स्वीकारयोग्य हुन्छ भन्ने मानसिकताप्रति सहमत हुन सक्दिन । अंग्रेजी होस् वा अन्य भाषा नियमपूर्वक गरिएका अनुसन्धान समानतहका हुन्छन् । संस्कृत वा नेपालीमा गरिएको अनुसन्धान कमसल हुने र अग्रेजीमा गरिएको अनुसन्धान अब्बल हुने पटक्कै होइन ।

आज अंग्रेजीमा लेखिए धेरैले पढ्छन्, विश्वब्यापी हुन्छ (राम्रो कुरा हो । तर भाषा अंग्रेजी भए पनि विषय मौलिक हुँदा गुरूहरूले “नाक खुम्च्याउनु हुँदैन । मेरो आग्रह एत्ति नै हो । यदि कसैले “शंकराचार्य–मोडेल” अपनाएर अनुसन्धान गर्छ भने गाइडहरूले तेसको सम्मान गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया ।