घुम्ती कविगोष्ठी नेपालको ८५ औँ शृङ्खला सम्पन्न

घुम्ती कविगोष्ठी नेपालको ८५ औँ शृङ्खला सम्पन्न

कपनअनलाइन

काठमाडौं,मंसिर १५ । । घुम्ती कविगोष्ठी नेपालको ८५ औँ कविगोष्ठी शृङ्खला सम्पन्न भएको छ ।

बानेश्वर, भीमसेनगोलाको रिचभिजन सिने स्टुडियोमा स्टुडियोका संस्थापक केशव सान्दाइको आयोजना र उनकै सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणि थिए भने अतिथिहरूमा वरिष्ठ साहित्यकार कणाद महर्षि, वेदका अनुवादक तिलकप्रसाद लुइँटेल, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाका सम्पादक एवम् प्रकाशक निबन्ध आचार्य र ‘अटिजम’ फिल्मका पटकथाकार विक्रम श्रेष्ठ ‘सागर’ लगाएतका थिए ।

बिहान ८ बजे सञ्चालन भएको सो कार्यक्रममा परशुराम पराशर, रामकुमार पण्डित, विमल कोइराला, दुर्गा अधिकारी भमरकोटे, त्रिलोचन आचार्य, प्रह्लाद लामिछाने, राजबाबु श्रेष्ठ ‘सागर’, मिसन अधिकारी, रामचन्द्र दाहाल, रञ्जना पराजुली लम्साल, माधवलाल श्रेष्ठ, घनश्याम प्रसाईं, शारदा पराजुली लगायत अतिथिहरूले समेत कविता, गजल र मुक्तक सुनाएका थिए ।

सो कार्यक्रममा वाचित रचनाहरूको समीक्षा तिलकप्रसाद लुइँटेलले गरेका थिए। उनले प्रत्येक रचनामा भएका अर्थ र भावलाई विविध पक्षसँग जोडेर रमाइलो तरिकाले सटिक समीक्षा गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले घुम्ती कविगोष्ठी नेपालको सुरुका शृङ्खलाहरूमा जस्तो हरेकले हरेकको रचनामा समीक्षा गर्ने परिपाटीलाई नै अगाडि ल्याउनुपर्ने सुझाव दिएका थिए । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशरले घुम्ती कविगोष्ठी नेपालको कार्यसमिति, आगन्तुक अतिथि कवि तथा आयोजक केशब सान्दाइलाई धन्यवाद दिएक थिए ।

सो कार्यक्रमका सभाध्यक्ष केशव सान्दाइले घुम्ती कविगोष्ठी नेपालले कार्यक्रम आयोजना गर्न दिएर आफूलाई साहित्यकार, कविहरूसँग अझ निकट बनाएको महशुस भएको बताए । कविगोष्ठी गरेर यो संस्था सबैमाझ परिचित भएको समेत बनाउनुहुँदै उनले आफूले निर्माण गरेको ‘अटिजम’ सिनेमाले दर्शकहरूको माया अवश्य नै पाउने छ भन्ने बिश्वास ब्यक्त गरेका थिए। साथै उनले यस्ता कार्यक्रमहरू फेरिफेरि आयोजना गर्ने योजनासमेत सुनाए ।

उक्त कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष रामकुमार पण्डितले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।