मैले अनुभव गरेको समाज !
कपनअनलाइन
काठमाडौं, मंसिर ६। सरला पोखरेल/
धेरै नेपाली महिला दिदी बहिनी र उनिहरुले भोगेका सामाजिक समस्याहरुका बारेमा देखेकी, सुनेकी र पढेकी छु। तर, आज मलाई आफैले महिला भएर भोगेको मेरो आफ्नो भोगाई लेख्न मन लागेको छ । यस्तो लेख्दै गर्दा जबसम्म आफुले भोगिन्न तबसम्म त्यो समस्याको वास्तविक अनुभूती नहुने रैछ भन्ने लागेको छ ।धेरै वर्ष पहिले मेरी गुरुआमाले समाजको परिभाषा सिकाउनु भएको थियो। तर, हुर्कदै जाँदा थाहा पाएँ, उहाँले मलाई चिनाउनु भएको समाज र मैले देखेको समाजबीच धेरै भिन्नता रहेछ ।
समाज पाठ्यक्रमको किताबमा अटाउने शब्द र चित्रमा जस्तो नहुने रहेछ। त्यहाँ त जातजाती, भाषा, धर्म, लिंग भेषभुषा आदिमा कहिले भेदभाव हुँदैन भन्ने थियो, यथार्थमा ठीक विपरित । गुरुआमाले पढाउँदै गर्दा मैले कल्पना गरेको समाज र मैले भोगेको वास्तविक समाजबीच कहिल्यै तालमेल मिलेको मैले अनुभव गरिन ।
समाज म तपाईँ अनि हामी मिलेर बनेको पक्कै हो ।हाम्रो समाजमा विद्यामान असमान सामाजिक संरचनाको कारण समाजमा विभेद कायम छ रसमाज आवरणमा रुमलिएको छ । समाजलाई देखाउन नै कतिले ईख लिएर प्रगतिको बाटो समाएका छन् त कति समाजकै कारण विष पिउन बाध्य भएका उदाहरणहरु प्रशस्त छन् । समाज व्यक्तिको मार्गदर्शक बन्नुपर्ने हो र हामीले आफु सामाजिक अनुशासनमा रहेर असल संस्कार र सभ्यताको विकास गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।
मेरो सन्दर्भमा समाजबारे यो सब सोच्ने बनाउन एउटा घटनाले भूमिका खेल्यो । घरसँग टाढा अनि मामाघरसँग नजिक भएकी मलाई कहिल्यै घरको वास्ता लागेन न त दिदी भाई बहिनीलाई नै आफ्नो ठाने मैले । ‘दशैमा टिका लगाउन पाहुना बनेर आउने आमाको जेठी छोरी नै मेरो ममी हो भन्ने’ पछि मात्र थाहा पाँए । वर्ष–वर्ष दिनमा भेट हुँदा भन्ने गरेको ‘ममी–ड्याडी’ शब्द आफैलाई अफ्ट्यारो र नौलो लाग्थ्यो । ‘ममी’ शब्दको ठाउँमा म ‘आमा र माईजु’ नै धेरै भन्थे भने ‘ड्याडी’ शब्दको ठाउँमा ‘बुबा अनि मामा’ । सायदै पहिलो पटक हुनुपर्छ मलाई घरको याद आएको, मैले घरको फोन कुरेको अनि ममिको आवाज सुन्न आतुर भएको । एसएलसीको तयारीमा थिए । पढाईमा भन्दा धेरै ध्यान त कतिखेर फोन आउला भन्नेमा हुन्थ्यो । आफ्नो घरमा फोन थिएन, पल्लोपट्टि मामाको घरमा थियो ल्यान्डलाईन । फोनको घन्टी बज्यो कि लाग्थ्यो त्यो फोन त हाम्रै लागि हो अब मामाले मलाई बोलाउनुहुन्छ अनि म कुद्दै जान्छु नत्र फोन काटिन सक्छ । सबै साथिहरु धमाधम पढिरहेका हुन्थे मलाई भने पढ्न मनै लाग्दैनथ्यो । मुटुको धडकन बढेसँगै आखाभरी आँसु आउथ्यो । घरमा म मात्र हैन बुढाबुढी बुबा आमा, मामा माईजु अनि सानिमा सबैजना त्यहि फोनको बाटो कुरिरहनु भएको थियो । जतिखेर सबैका आँखाले मलाई नै नियालिरहेको हुन्थ्यो कतै रोईरहेकि त छैन भनेर ? सानिमा बेलाबेलामा मेरो छेउ आउँदा म भन्थे –‘सानुममी म काठमाडौँ जाने नि मलाई ममी भेट्न मन लाग्यो…’ तर सानुममिले मेरो टाउको सुमसुम्याएर आफ्नो आँखाका आँसु लुकाउन खोज्दै भन्नुहुन्थ्यो –‘पढ न नानी तेरो परिक्षा आईसक्यो ममिलाई केहि हुदैन ।’ काठमाडाँैबाट दिनको एकपटक आउने फोनमा दिनैपिछे कुरा फरक हुन्थ्यो । कहिले भनिन्थ्यो – ‘ममीको अपरेसन सक्सेस भयो अब नर्मल वाडमा सार्ने…।’ कहिले खबर आउथ्यो –‘डाक्टरले भनेको घाउ पाक्यो रे फेरि अपरेसन गर्नु पर्ने भयो….।’ कहिलेको खबर हुन्थ्यो –‘अपरेसन सफल त भयो तर डाक्टरले ब्रेन ट्यूमर भएको मान्छे धेरै समय बाँच्दैन भन्यो.. ।’ यस्ता दिनदिनै फरक हुने खबरबाट तर्सित भएका हामीलाई अबको फोनमा नराम्रो सुन्न नपरोस् भन्ने मात्र थियो । तर काठमाडाँैबाट त्यो दिन भरि फोन आएन । बेलुका हामी आफैले फोन गरे पछि थाहा भयो ‘टाउकोमा पानी जम्यो रे तेस्रो पटकको अपरेसन फेल भयो कृतिम सासका लागि ममीलाई भेन्टिलेसनमा राखिएको छ ।’ ममीलाई कृतिम सास लिएको अस्वथामै भएपनि भेटाउने भन्दै मामा र म लालबन्दीबाट भोलीपल्ट बिहान हिड्ने भयौ तर त्यहि रात फेरि फोन आएछ भेन्टिलेटरबाट हटाईयो अहिले पशुपति लगिदैछ छोरीलाई लिएर आउनु । ‘ममी’ शब्द धेरै बोल्न नपाएकी मैले अब त कैले ‘ममी’ भन्न नपाउने भए । ममीसँग वर्ष–वर्ष दिनमा मात्र भेट्न पाउने मैले अब कहिले भेट्न नपाउने भए । भक्कानिएको मन सम्हाल्दै सबै वास्तविकतालाई स्वीकार्नु बाहेक हामीसँग अर्को विकल्प थिएन । ‘ममीसँगको धेरै पल बिताउन पाईन त के भयो म भाईले नै जसरी ममीको काजक्रिया गर्छु…।’ एउटा प्रणका साथ आँसु पुसेको थिए मैले । संयोग नै भयो मैले जे सोचेको थिएँ मेरा चार दिदिबहीनी र ड्याडीले नि त्यही सोच्नु भएको रहेछ । म घर पुग्दा समाजका बुद्धिजिवीहरुको भेला भईसकेको रहेछ जहाँ त्यही विषयमा दुई पक्ष चर्काचर्की चलिरहेको थियो । छोरीले नि आमाको काजक्रिया गर्न हुन्छ भन्ने पक्षको समुह थोरै थियो भने विपक्षको समुह धेरै । मेरो परिवार र युवापुस्ता पक्षमा थियो भने विपक्षमा पुराना पुस्ता ।
‘यो छोरी हो, यो हाम्रो चलनचल्ति विपरित हो, के यो कपाल खौरिएर बस्न सक्छे ? के यसले वर्षभरि सेतो लुगा लगाएर बस्न सक्छे ? यो कामको बिचमै महिनावारी भै भनेनी?’ जस्ता प्रश्नको लामै लिस्ट थियो विपक्षसँग भने हामीसँग एउटै उत्तर थियो – ‘सोच बदलौ ।’ अनि मैले ममीको काजक्रिया समाजले भनेझैँ कसैलाई देखाउन भन्दा नि आफ्नो आत्मसन्तुष्टी र परिवारको खुशीको लागि गर्न चाहेको थिए । गाउँको मान्यगुन्य शिक्षकको नाताले ड्याडीलाई सम्झाउन भन्यौ हामीले तर समाज यतिसम्म हाम्रो विपक्षमा गईसकेको थियो कि उल्टै ड्याडीमाथि नै ‘छोरीहरु पढाएर बाठा बनाकोले यस्तो दिन देख्न परेको’ भनेर आरोप लाग्यो । द्धिपक्षिय विवादले ड्याडीलाई असहज लागेपछि ड्याडीले पण्डितलाई एक्लै राखेर कुरा गर्नुभयो । ड्याडीले के के सम्झाउनु भयो थाहा भएन तर अन्ततः पण्डित पनि हाम्रो कुरामा सहमत भए । काम गराउने र काम गर्ने दुवै सहमत भएपछि अब भने मैले ममीको काजक्रिया गर्न पाउने भए त्यो पनि कपाल नखौरी । समर्थन गर्ने हामीसँगै बसेर के–के गर्ने भनि निर्देशन गर्न थाले भने असमर्थ पक्षहरु आफ्नो बाटो लागे । तर हामी भने एक किसिमले खुशी थियौँ । केही दिनपछि स्थानिय पत्रिकामा पनि समाचर बनेछौ । सायद समाजलाई केही सहज लागेछ कि विस्तारै छोरी कसरी चै बसिछे त आमाको काम गर्न भनेर हेर्न भन्दै भेटघाटमा आउनेको संख्या दिनदिनै बढ्न थाल्यो । ममी गुमाएको दुःखसँगै आफु एक जिम्मेवारी छोरी भएको महसुस गरेर फेरि मामाघर फर्किए । बाटोमा एकजना बुबासँग भेट भयो जो त्यतिबेला हाम्रो विपक्षमा हुनुहुन्थ्यो उहाँले आफ्नो वरिपरिका मान्छेतिर मलाई देखाउँदै भन्नुभयो यिनै नानिले हो नि भाईसँगै बसेर आमाको काजक्रिया गरेको हामी एउटै खलकका हौ । बुबाले हामी एउटै खलकका हौ भनेर मलाई नजिकको मान्छे बनाईरहदा म भने आफैप्रति गर्व महसुस गर्दै सोचिरहेथे –‘केहि मात्रमा भएपनि सोच बदलिएछ ।’ बाटोभरि केही दिन अगाडिदेखि मेरो जीवनले कल्पना पनि नगरेका कुरा भोग्दाका पल सम्झिए । आँखा ओभाउन भ्याएका थिएनन् लालबन्दी पुगेछु । छोरको वियोगमा रहनुभएकी मेरी हजुरआमाका लागि त्यो १३ दिन पनि १३ वर्ष भन्दा पक्कै कम भएन होला ?मलाई देख्ने वित्तिकै छोरो भएर आईस नि नातिनि मेरी छोरी कति भाग्यमानी रैछे छोरीले दिएको पिण्डदान खान पाई भन्दै भक्कानिएर मलाई अंगालो बाँधेको सम्झिदा आज पनि आँखा रसाउछ । हिजोआज पनि संचारमाध्यमहरुमा छोरीले पनि बुबा आमाको काजक्रिया गरेको समाचारले एक किसिमको अपनत्व र गौरवको महसुस गर्छु ।
त्यसो त यो घटना हुनु पहिले नै म समाजको चलनचल्तीसँग नजुधेकी भने हैन । म पहिलो पटक महिनावारी भएँ। त्यो बेलामा, मलाई कसैलाई हेर्न र छुन नहुने निर्देशन दिइएको थियो। छिमेकी आन्टीले केटा मान्छेलाई हेर्न समेत नहुने कुरा सिकाउनु भएको थियो। त्यसैले म एउटा कोठामा थुनिएर बसें। एकदिन एउटा थालमा सबै खानेकुरा मिसाएर ल्याएपछि मैले खान मानिंन । सानिमाले सम्झाउदै भन्नुभयो ‘नानि यस्तै हो, तैंले छोएको भाडा पछि चलाउनु हुन्न नि त। त्यही भएर एउटा मात्र थालमा सबै कुरा राखेको।’ यति सुनेपछि मेरा आँखाबाट आँशु आए। सानिमा ती आँशु पुछ्न अघि सर्नु भएको थियो । तर एक्कासी उहाँले मलाई छुन नहुने सम्झनु भयो र मलाई त्यसै छाडिदिनु भयो । भन्नुभयो –‘नरो न लाटी हाम्रो समाजको चलन नै यस्तो छ । अब के गर्नु भन् त ?’
मेरो आखाँबाट बगेको आँशु समेत पुछ्न नहुने गरी अछुतो बनाउने यो समाजसँग मलाई धेरै प्रश्न सोध्न मन लागेको थियो। सबैसँग बस्नु पर्ने अवस्थामा मलाई एक्लो बनाउने सामाजिक नियम मलाई शत्रु जस्तै लाग्यो। अरु त अरु सबै आफन्त दिदीको विवाहको रमझममा थिए, म मात्र एक्लै कोठामा। मलाई मात्र किन छुटायो होला त्यो समाजले। मजस्तै मानिस मिलेर बनेको समाजले मलाई किन केही छुन, हेर्न प्रतिबन्धित ग¥यो होला? मलाई त समाज आफ्नोजस्तो लागेन, म यो समाजको होइन भन्ने महसुस भयो ।
सबै आफन्त मेरै अगाडि दिदीको बिहेमा जाने तामझाममा थिए । तर म बिहेमा रमाइलो गर्नबाट बञ्चित। समाजको नियमले मलाई पर राख्यो। मेरो गुरुआमाले पढाएको समाज त यति कठोर थिएन। त्यहाँ म अनि हामी सबै मिल्ने ठाउँ थियो ।
वास्तविक समाजले भने मिल्नु परको कुरा विभिन्न बहानामा हामीलाई बहिस्कार ग¥यो। खोइ त मैले पढेकोजस्तै समाज? यहाँ त हामी समाजसँग डराउनु पर्ने अवस्था छ। अन्तरजातिय विवाह गर्न चाहे प्रश्न उठ्छ – ‘समाजले के भन्छ ?’
कोही दाम्पत्य जीवनसँग खुशी छैन र सम्बन्ध बिच्छेद गर्न चाहन्छन् भने प्रश्न उठ्छ –‘समाजले के भन्छ?’ रोएरै सही समाजलाई देखाउन सँगै बसिदिनु पर्छ। सायद समस्या मानिसमा छ, जो समाजको डरले आफु परिवर्तन हुन चाहदैन ।
त्यही समस्याले समाज र मजस्तो प्रश्नैप्रश्नले झेल्लिएको मानिसबीच द्वन्द सिर्जना गराएको छ । त्यो द्वन्द जहाँ मेरो निर्णय समाजलाई स्वीकार्य हुँदैन । त्यसपपछि विवाद सिर्जना हुन्छ ।
जित त पक्कै प्रश्न गर्नेहरुको हुन्छ । मैले आफुले भोगेको समाजमाथि प्रश्न गरें। मैले जितेकी छु। तर यी तमाम प्रश्नहरु अनुत्तरित रहेसम्म र परिवर्तनका नाराहरु कागज र भाषणमा सिमित रहेसम्म द्वन्द निरन्तर चलिरहन्छ ।
एउटी छोरी विवाहको अघिल्लो दिनसम्म पनि आमाको पुराका पुरा ख्याल राखेकी हुन्छे। जति भाई वा दाईले सेवा गर्छन् त्यति नै सेवा उसले पनि गरेकी हुन्छे तर आमाले संसारलाई छोडेसँगै समाज सक्रिय रुपमा जुर्मुराउँछ र भन्छ –‘अब दागबत्ती छोराले दिनुपर्छ।’ छोरी खोइ?दाजु भाइसँगै हुर्किएकी एक छोरीले विवाह भएकै छैन भने पनि दागबत्तीको अधिकार पाउँदिन । किनकी समाजले दिंदैन ।
समाज कहिलेकाही बहकाउमा पनि लाग्दो रहेछ । छोरीले काजक्रिया गर्नु हुदैन भन्ने समाज सञ्चार माध्यममा ‘छोरीले पनि गरिन् आमाको काजक्रिया’ भन्ने समाचार आउँदा छोरीको वाहवाही गर्दो रहेछ । ‘हाम्रो गाउँको चेली’ भन्दै नाक फुलाउने चेष्टा र चेतना पनि राख्दो रहेछ ।
सकारात्मक परिवर्तन कसले चाहदैन र? तर कुन परिवर्तन सकारात्मक र कुन नकारात्मक भनेर छुट्याउने र त्यसलाई समाज परिवर्तनको मार्गदर्शन मान्ने दृढता अझै पुगेको छैन । हामीले अझै धेरै गर्नु छ।