नेपाल मेरो घर !

नेपाल मेरो घर !

कपनअनलाइन

काठमाडौं,मंसिर ६। त्रिलोचनआचार्य/ कबिता

मान्छे हेर यता हिमालय चुली चम्कन्छ छातीभरि
यी पाखा पहरा र ताल छहरा गम्कन्छ छातीभरि
मै हूँ देश यतै छ साँध छलले कोही नआओस् वर
भोकै मर्छु परन्तु भन्छु नदुखोस्– नेपाल मेरो घर ।

हाँसे देश म हाँस्न सक्छु सुखमा रोए स्वयं रुन्छु म
बाँचे देश म बाँच्छु ढुक्क मनले जैल्यै सँगै हुन्छु म
आमाको मन यो प्रफुल्ल रहँदा, लाग्दैन केही डर
गोर्खाली बलिदान दुख्दछ दुःखे नेपाल मेरो घर ।

छाती पोल्दछ भत्भति जहरिला आँखा नलाऊ यता
पेल्दै हिँड्न सकिन्न इञ्च पनि यो पुज्दैछु माटो म ता
यो धर्ती छ पबित्र दुष्ट मतिले को छुन्छ यी पिल्लर
जैल्यै यो छ बुझुन् स्वतन्त्र हँसिलो, नेपाल मेरो घर ।

झन् धेरै बलभद्र भक्ति अहिले हुर्की रहेछन् यहाँ
चल्दैछन् गडवाल खै भनि कुरा मेची र काली कहाँ
आऊन् स्वागत गर्छु किन्तु मनको बन्दै सफा सुन्दर
सानो हो तर यै हिरा सरह हो, नेपाल मेरो घर ।

आमाको पिरमा कदाचित युवा हाँस्दैन हाँस्दैन है
काँडेतार लगाउँ भन्दछ परे विश्वास मास्दैन है
गोला बारुदमा भिरेर खुकुरी लड्दै छ गोर्खे पर
अग्ला पर्बत झैँ उचा छ जहिल्यै, नेपाल मेरो घर ।

सुस्ताको दुःखमा रुँदैछ दिल यो टुक्रा गराई मुटु
कालीको जल अशु्रधार नबनोस् बोकेर पीडा कटु
आधा रात छिमेक कुद्दछ भने तर्साउँदै आखिर
जागा तीन करोड बन्दछ भनी नेपाल मेरो घर ।

तपाइँको प्रतिक्रिया ।