रमेश विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कृत गरिने नामावली घोषणा
कपनअनलाइन
काठमाडौं,मङ्सिर १ । रमेश विकल साहित्य प्रतिष्ठानले विकलको स्मृतिदिवसका अवसरमा हरेक वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारहरू पुरस्कृत गर्न नाम घोषणा गरेको छ।
प्रतिष्ठानको अनुसार स्रष्टाहरू भैरव रिसाल, शिशिर योगी, किशोर पहाडी र ध्रुव घिमिरेलाई क्रमशः रमेश विकल वाङमय पुरस्कार, रमेश विकल सङ्गीत पुरस्कार, रमेश विकल सृजना पुरस्कार र रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गर्नेछ । त्यसरी नै समाजसेवीहरू सुदर्शन सिग्देल र रेणु उप्रेतीलाई क्रमशः रमेश विकल सुशीला समाजसेवा पुरस्कार र रमेश विकल सङ्घर्ष नारीसेवा पुरस्कार प्रदान गर्नेछ ।
प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको संयोजकत्वमा साहित्यकारद्वय शार्दूल भट्टराई र मेनका पोखरेल सदस्य रहनु भएको सिफारिश समितिको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो ।
प्रतिष्ठानद्वारा दिइएको जानकारीअनुसार ६ वटै पुरस्कारहरू आगामी पौष महिनाको पहिलो शनिवार (यसपालि ५ गते परेको छ) साहित्य सदन रामहिटीमा गरिने रमेश विकल स्मृतिसभामा अर्पण गरिनेछ ।
फोटो: शब्दपथ