मेरा केही जन्मदिन !
कपनअनलाइन
काठमाडौं,कार्तिक २२। /आत्माराम खरेल /संस्मरण
वि.सं. २०२३ साल असार ५ गते ।
जे.पी. हाईस्कुल, क्षेत्रपाटी, काठमाडौं ।
कक्षा ६ ।
‘सर !’
‘भन !’
‘भोली…’
‘भोली के … मामाघर जाने ?’
‘मेरो जन्मदिन …’
‘ल, भोली विदा बस्नु, जन्मदिन मनाउनु !’
मेरा बाल्यकालका प्रत्येक जन्मदिनको बिहान मेरी आमाले केही पैसा दिँदै ‘मिठाइ किन्नु, कङ्केश्वरी मन्दिरमा चढाउनु र दर्शन गरेर आउनु’ भन्नु हुन्थ्यो । मन्दिरमा फूल, प्रसाद र भेटी चढाउँथें । देउताको टिका र फूल लगाउँथेँ । हातमा केही फूलप्रसाद लिएर घर आउँथें र सबैलाई बाड्थेँ । यो क्रम १२औँ जन्मदिनदेखि १९औँ जन्मदिनसम्म चलिरह्यो ।
सत्रौँ जन्मदिनका बिहान मैले ब्युँझने बित्तिकै एउटा अनुभूत गरेँ– अब म नागरिकता पाउन योग्य भएँ । त्यस्तै १४औँ जन्मदिनदेखि ममा लागेको अतिरिक्त पुस्तक पढ्ने बानी यतिबेला निकै विकसित भइसकेको थियो । त्यस्तै उन्नाईसौँ जन्मदिनको करिब दुई साता नहुँदै मलाई वारेश बनाइयो, काठमाडौं जिल्ला अदालतमा चलिरहेको अंश मुद्दामा । त्यसको दुई साता नहुँदै प्रमाणपत्र तहको अध्ययन थालियो, रत्नराज्य क्याम्पसमा । र, त्यसको एक महिना नहुँदै अर्को मुद्दामा पनि मलाई वारेस बनाइयो, भक्तपुर जिल्ला अदालतमा । आफूमा आइपरेका तत्कालीन गतिविधिहरुले मलाई मनमनै अलमल्याइरहन्थ्यो– ‘म वारेस बन्नका लागि पढीरहेछु वा पढ्नका लागि वारेस बनिरहेछु ?’
बीसौँ जन्मदिनमा मैले संस्मरण गरेको थिएँ– पछिल्लो वर्षको आफ्नो केही गतिविधि । पछिल्लो हिउँदमा भारतीय दूतावासद्वारा गरिएको निबन्ध प्रतियोगितामा दोस्रो भएँ । भारत सरकारको आमन्त्रित पाहुना भएर एक साताव्यापी दिल्ली भ्रमणको अवसर पाएँ । जीवनमा पहिलो पटक प्लेन चढेँ । (र, प्लेनभित्रै मनमनै ‘कालिदास’सित भनेँ म पनि नेपालको मेघदूत भएँ !) त्यसै क्रममा आग्रा पुगेँ, ताजमहल हेरेँ । खुसी नै खुसीका ती क्षणलाई अझै गहिरिएर संस्मरण गरेँ– प्रतियोगीताको लागि समावेश गरिएको निबन्ध ‘भारत हाम्रो छिमेकी’ तथा यात्रा संस्मरण ‘मेरो दिल्ली भ्रमण’ भारत समाचारपत्रमा क्रमशः छापिए । छापिए बापत पारिश्रमिक पनि पाएँ । थप खुसीको कुरो त त्यसैताकादेखि आफ्नो लेखन आर्जनबाट हुने पकेट खर्चमा बेग्लै स्वाद पाउन थालेँ । तर, अनायाशै मेरो कानमा आवाज र आँखामा दृश्य ठोकियो– ‘‘तिम्रा जन्मदिनहरु क्रमशः किताबी जील्लाझैँ पुरानिँदै–च्यातिँदै गए । ‘टिनएज’ले पनि तिमीलाई छाडेर गए ।’’
२१ औं जन्मदिनको संस्मरण थियो– ‘‘यतिबेला त मेरा लेख–रचनाहरु रेडियो नेपालबाट प्रसारण हुने तथा गोरखापत्रमा छापिने गरेका छन् । निबन्ध संग्रह ‘के लेख्ने ?’ तथा उपन्यास ‘मसलाको पोको’ छापिइसकेका छन् ।’’ साथै म भावुक पनि भएँ– आफ्ना पहिरन सबै सेता थिए । किनकी अघिल्लो वर्ष, असार अन्त्यताका स्वर्गे भएका पिताको बर्खीबारिरहेको थिएँ ।
२२ सौं जन्मदिनमा गरिएका केहीसंस्मरण यहाँ दोहोरिन आइपुग्छन्– अब त मेरो तेस्रो पुस्तक प्रणयजाल (उपन्यास) र चौथो पुस्तक सुधा–सागर (खण्डकाव्य) पनि छापिइसकेका छन् । गोरखापत्र र रेडियो नेपालमा पनि बरोबर लेख–रचनाहरु आइरहेका छन् । गोरखापत्रमा दुईटा लेख छापिएको महिना रेडियो नेपालबाट एउटा प्रसारण हुन्थ्यो । गोरखापत्रमा एउटा छापिएको महिनामा रेडियोबाट दुईटा प्रसारण हुने गथ्र्यो । जे होस् अक्षर यात्राको गोरेटो तय हुँदै थियो ।’ साथै स्मृति पृष्ठले यो पनि संस्मरण गराउँछ– बौद्धिक पसिनाको स्वादमा मनाइने जन्मदिनहरु त झनै प्रिय र रमाइलो हुने गथ्र्यो । रमाइ–रमाइ थप संस्मरण पनि गर्छु– ‘ओहो ! आज मेरो जन्मदिन रे । कति चाँडै नयाँ जन्मदिन आएछ !’ निश्चय पनि हर जन्मदिनमा नयाँ ज्योतिका साथ नयाँ उमेरमा आफूलाई नयाँ अनुभूत गरिएछ ।
स्मृतिपृष्ठको एउटा कुनोमा कोरिएका रहेछन्– २०३४ सालको संयुक्त राष्ट्रसंघीय दीवसका सन्दर्भमा लेखिएका मेरा तीनवटा लेखहरुले गोरखापत्र, दी राइजिंग नेपाल र रेडियो नेपालसमेत तीनवटै पत्रिकामा ठाउँ पाएका थिए । एकैदिनमा तीनवटै पत्रिकामा छापिएको त्यो दिन मेरा खुसीका सीमा धुरीमाथिसम्म पुगेका थिए ।
जापानमा एकजुगे बसाईपछि अर्थात् छत्तीसौँ जन्मदिन स्वदेशमै मनाएँ । यसपछिको जन्मदिनताका त म एक पर्यटन व्यवसायीका रुपमा पोखरामा थिएँ । र, जापानबाट फर्किसकेकी पत्नीको साथ पाइरहेथेँ । अठ्तीसौं जन्मदिनले त मलाई बधाइ पनि दिन्छ– गत जेठ महिनामा एक सुपुत्रीको बाबु भएकोमा । जंगल एक्स्प्रेस क्याम्प, सौराहा, चितवनको व्यवस्थापनको जिम्मा लिएकोमा । यस्तै, चालीसौं जन्मदिनले भने मलाई सुझाउँछ– ‘शारीरिक दृष्टिले अब ओह्रालो यात्राको प्रारम्भ हो ।’ र, एकचालीसौँ जन्मदिनले भन्छ– अब त तिम्रो अर्को काखमा एक सुपुत्र छ ।
होटेल व्यवसाय, सामाजिक एवम् व्यावसायिक संघसंस्था लगायतका विविध उत्तरदायित्वले चालीसे उमेरका दिनहरुमा मलाई बेफुर्ससदी बनाउँथ्यो । तिनै उत्तरदायित्वका सिलसिलामा हुने चितवन, पोखरा र काठमाडौंको यात्राले मलाई अस्तव्यस्त बनाउँथ्यो । फलतः मेरो पारिवारिक माहोलमा भिज्ने समय अत्यन्तै न्यून हुने गथ्र्यो । २०५८ साल असारमा रिसोर्ट भाडामा लगाएँ । संघसंस्थाको जिम्मेवारीबाट पनि आफूलाई क्रमशः मुक्त बनाउँदै लगेँ । अब पारिवारिक माहोलमा धेरै समय बिताउन पाउनेमा खुसी भइरहेको थिएँ । तर, के गर्नु ! सोचे जस्तो नहुने । यसैबखत आर्थिक बाध्यताका कारण पैतृक सम्पत्तिको खोजतलासमा आफूलाई नहोमी पनि नहुने ।
उनन्चासौं जन्मदिनले चियाउँदा तपैतृक जग्गाजमिन भएका जिल्लामध्ये सप्तरी जिल्लाका जग्गाजमिन काका र हाम्रा बुवाबीच वण्डा भए । काकापट्टिका हकवालाले आ–आफ्ना लालपूर्जा पनि निकाले । तर हामी पट्टिका केही अंशियारले भने अत्तो थापे । हामीपट्टि कसैको पनि लालपूर्जा बनेन । फलतः अनुभव र दुःखका पक्षमा मैले आफूलाई केही बूढो बनाएँ । पारलाग्दै जाने हर क्षणसँगै मेरा उमेर पनि पारलाग्दै गए । हो, जीवन गति रोकेर रोकिन्न । छेकेर छेकिन्न । समय पनि सकिन्न । सकिने त आयु मात्र रहेछ । समय आउँछ सधैँ नयाँ भएर, नयाँ गीत गाएर, वर्तमानलाई पछ्याएर । नयाँ उमेर भन्नु आशा र उत्साहको समय हो । मेरो मुड ‘अफ्’ होस् वा ‘अन’, प्रत्येक बिहानीमा नवीन रुप पाइरहन्छु । नवीन हुन नसकेको; बरु पुरानिँदै–खिइँदै पनि गएको त म आफै पो रहेछु । र त त्यतिबेला झल्याँस्स भएँ– अंश वण्डामा कतैबाट पनि नैतिक समर्थन नहुँदा विदेशतिर लाग्ने सुर कस्दै पो रहेछु ।
…क्रमशः आगामी अंकमा
अघिल्लो बाह्र वर्ष देशबाहिर । पछिल्लो बाह्र वर्ष स्वदेशमै, तर घर बाहिर । र, यतिबेला फेरि जाने सुर कस्दै छु– देशबाहिर । यसरी नै जीवनका चौथाई शताब्दी त बितेछन् । परम्परागत सांस्कृतिक परिवशेबाट यो जीवनका गतिविधि अलग्गिएछन् । र त, कतिपय यथार्थहरु त थाहापत्तो नहुनेरहेछन् । अघि माया गर्नेहरु कताकता लागिसके । कि तिनीहरु पहिले नै थाकिसके ? अघि रिस गर्नेहरु पनि कताकता पुगिसके । कि अर्कै बाटो समाइसके ? आफ्नै वरीपरी हेर्छु– अब त परिवेश नै अर्कै भइसके । आफूलाई चाहिएर हो कि आजका केही परिवेश मानवीय पनि देखिए । आफूलाई मन नपरेर पो हो कि आजका केही परिवेश दानवीय पनि देखिए ।
हो, अब म उमेरले आधा शताब्दिछेउ पुगेको छु । दुःख–सुख भोगेको छु । तर, जस्तै दुःखमा पनि कहिल्यै आँत्तिइनँ । जस्तै सुखमा पनि कहिल्यै मात्तिइनँ । जस्तै उल्लासमय वातावरणमा पनि कहिल्यै पात्तिइनँ । जीवन चियाउनकै लागि मदिरापान कहिल्यै गरिनँ । दुःखहरुउडाउन धुम्रपान कहिल्यै गरिनँ । विविध पक्षबाट भएका घोचाइहरु बिर्सन लागू औषधिको सुई कहिल्यै लगाइनँ । नर्तकीको नर्तन चियाउन नृत्यालय कहिल्यै पसिनँ । आफ्नो युवारस पोख्न वेश्यालयमा कहिल्यै पुगिनँ ।
मेरा प्रत्येक जन्मदिनले मेरा उमेर फेराउँदै गए । मेरा प्रत्येक उमेरले मलाई छाड्दै गए । निश्चय पनि तिनले मलाई सदा–सदा ‘चरैवेते चरैवेते’ भनिरहे । तैपनि म पछाडिको पछाडि परिरहेँ । केही समयतयता त जीवन म्याराथुनमा कति जितियो, कति हारियोका समीक्षा पनि जन्मदिनताका गरिने मूल कर्म हुँदै आइरहेछन् । ‘फेरि आएँ’ भन्दै नयाँ–नयाँ जन्मदिनले घचघच्याउँदै आइरहेछन् । जब म फर्केर पछिल्लो एक वर्षलाई हेर्दछु तव चाहन्छु– ‘आफ्नो सोचाइको निचोड निकाल्न, कुनै गुह्य विषयमाथि केही गम्भीर बोध गर्न, आफ्ना इच्छा र आकाङ्क्षा कुन रुप र आकारमा छन् समेत थाहा पाउन ।’ एउटा बोधचाहिँ हुने गथ्र्यो– ‘यसका निम्ति मैले फुर्सद निकाल्नु पर्छ ।’ मैले त्यही गरेँ र अर्को एउटा निचोडमा पुगें– ‘आफ्नो वार्षिक समीक्षा गर्नु जीवनयात्राकै महत्वपूर्ण पक्ष हो । आत्मा साक्षी राखेर स्वविवेकले स्वसमीक्षा गर्नु पनि एउटा कला हो । जन्मदिनको सूर्योदय हेर्दै आफ्नो स्वस्थ, सुखद र सन्तोषमय भविष्यप्रति सकारात्मक हुनु आफैप्रतिको दायित्व पनि हो ।’
यसरी नै हर साल नयाँ जन्मदिन आउँछन् । तिनले मेरो मन र मस्तिष्क गिजोल गाजल गर्छन् । ह्रदयमा केही अनुभूति थमाउँछन् । मस्तिष्कलाई केही चिन्तन दिन्छन् । चिन्तनले केही चिमोट्छन् र ‘जन्मदिन भन्नु शरीर केही खिइएको सङ्केत हो !’ भनि एउटा तीतो सत्य बताउँछन् । तिनैले केही प्रण गर्न पनि सुझाउँछन् । अर्कातिर केही खुसीका कुरा पनि छन् ! हिजोका दिनहरुमा शिक्षा र स्वास्थ्यमा ठगिए पनि, सिर्जना कर्ममा त्यति ठगिइनँ । यही नै मेरो आत्मसन्तुष्टि र मानसिक खुसी । यही नै हो मेरो लागि राम्रो उपलब्धी पनि । यसरी नै हो मैले पछिल्ला वर्षहरुमा जीवनलय समाएको पनि । किनकि मेरो उत्तराद्र्ध जीवनयात्रा भन्नु सिर्जनायात्रा हो । यहाँ जति लिपिवद्ध भइरहेछु त्यो मेरै भावनाको डिम्बीकरण हो । त्यसलाई प्रस्तुत गर्ने म एक कलाकारी रज–विर्य हुँ । सोही रज–विर्यको योगफल भइ जन्मने म एक आत्मसमीक्षक हुँ, आफ्नै केही जन्मदिनको । र, …बाँचिरहे फेरि–फेरि पनि विविध प्रसङ्ग देख्न पाइने हुनाले नै ‘जीवीतेकिं न दृश्यते ?’ भनेको सत्य रहेछ । नमरी बाँचे कालले साँचे …सिर्जनार्थ यी हात साँचिरहे …! फेरिफेरि पनि मुसुमुसु हाँँस्दै नमस्ते गर्न वा हात मिलाउन पाइने अझै बाँचिरहे … !
पछिल्ला केही वर्षयता जन्मदिन नगिचिँदै गर्दा त मन मडारिन थाल्छन्– आफ्ना कार्ययोजना र प्रतिबद्धताबारे । विगतबाट भएका क्षती, उपलब्धी र आगतका लागि आवश्यक कार्ययोजनाबारे । विगतको मूल्याङ्कनमा गत वर्षको योजना रेखाङ्कन र गत वर्षको मूल्याङ्कनमा आगतको रेखाङ्कनबारे । यिनै हुन्– भावविभोर मनस्थितिबाट उर्लने गरेका पछिल्ला जन्मदैनन्दिनी अवस्थाहरु । यिनै अवस्थाहरु हुन्– कल्पनाशील, चिन्तनशील र सृजनशील हुन प्रेरित गर्ने केही सुखद प्रसङ्गहरु । र त यो मनले मलाई व्याख्या गर्छ– तिम्रा हरेक जन्मदिन आफैमा एक सुगन्धित फूल हो । यहाँसम्मका जन्मदिनहरु समग्रमा एक सुन्दर फूलबारी हो ।
आफ्नो जन्मदिनको सूर्योदय हेर्दै आफ्नो नयाँ जन्मको अनुभूत गरिन्छ । नयाँ ज्योतिका साथ नयाँ दिनको महसुस गरिन्छ । यसरी नै हर जन्मदिनमा नयाँ उमेरको महसुस गरिन्छ । एकपछि अर्का स्मृतिहरु पूर्व–पश्चिम, उत्तर–दक्षिण, उज्यालो–अँध्यारो, सियो–धागो र फूल–काँडाझैँ भएर होमिन आइपुग्छन्– मेरा वरिपरि । अन्ततः सह्रदयी भावनाको बत्ती बालेर हर जन्मदिनले उज्यालो बनाउँछ– यो मनभरि । यसरी नै मेरा बाँकी जन्मदिनहरुले पनि मेरो जीवनमा उज्यालो छरिरहुन्– यो जुनीभरि ।