आज श्रावण शुक्ल पूर्णिमा,रक्षाबन्धन बाँधेर जनैपूर्णिमा मनाईदै
आज श्रावण शुक्ल पूर्णिमाको दिन प्रत्येक हिन्दु नेपालीको घरघरमा गुरु, पुरोहितबाट जनै तथा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा मनाईदैछ । हिन्दु त्यसमा पनि ब्राह्मण क्षेत्रीको चाड मानिने जनैपूर्णिमाले जनै लगाउने हिन्दु धर्मावलम्बीमा विशेष महत्व राख्दछ । विधिवत् रुपमा मन्त्रणा गरिएको जनै र रक्षाबन्धन घरमा लगाउन नपाए मन्दिरमा गएर भएपनि लगाउने गरिन्छ । शुरुमा यज्ञमा मात्र धारण गरिने भएर यज्ञोपवीत भनिएको यो सूत्र पछि ब्राह्मण हरबखत यज्ञमा रहनुपर्ने भएर सदा लगाइने गरिन्छ । यसको महत्व नबुझेका कारण वर्तमान युवा पुस्तामा यसको आकर्षण घट्दै गइरहेको छ । यस अवसरमा कपनका बगलामुखी, नवदुर्गा, बालकुमारी, सिद्धेश्वर लगायतका मन्दिरमा आज हिन्दु धर्मावलम्बीको घुइँचो लागेको छ ।
नयाँ यज्ञोपवीत (जनै) धारण गर्दा पाठ गरिने मन्त्र ः
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
अर्थात्, ब्रह्मा (प्रजापति) परम् पवित्र र स्वच्छ यस यज्ञोपवीतले हाम्रो आयु, बल र तेज वृद्धि गरोस् ।
पुरानो यज्ञोपवीत छाड्ने मन्त्रः
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारितं मया ।
जीर्णत्वात्परित्यागोसि गच्छ सूत्रं यथासुखम् ।
अर्थात्, यतिका दिनसम्म ब्रह्मत्वको रुपमा मद्वारा धारण गरिएको ए यज्ञोपवीत! पुरानो भएकाले तिमी त्यागिदैंछौ । कृपया सुख मानेर आफ्नो स्थानमा जाऊ ।
रक्षाबन्धन धारणा गर्दा पाठ गर्ने मन्त्र ः
येन बद्धो बलीराजा दानवेन्द्रो महाबल ः
तेन त्वां प्रतिबध्नामि रक्ष मां चल मा चल ।।
अर्थात्, जुन सूत्रले महाबली दानवहरुका राजा बलिको समेत रक्षा गर्दछ । त्यही सूत्रले तपाईंको रक्षाको लागि बाँध्दैछु ।