कपनमा वाइसिएलको क्षेत्रीय भेला सम्पन्न, भाद्र १ गते वृहत पार्टी प्रवेश कार्यक्रम
कपन अनलाइनएमाओवादीले कपन केन्द्रित कार्यक्रमलाई उच्च प्राथमिकता दिने क्रममा क्षेत्र नं. ४ वाइसिएल भेला सम्पन्न गरेको छ । आसन्न संविधानसभाको निर्वाचनलाई ध्यान दिएर गरिएको यस कार्यक्रममा क्षेत्र नंं ४ का भनिएको करिब २५० युवाहरु(वाइसिएल भनिएका) उपस्थित थिए । केन्द्रिय सदस्य आहुतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्र नंं. इन्चार्ज तथा केन्द्रिय सदस्य गंगा कार्कीको उपस्थिति थियो ।
एनेकपा माओवादीले काठामाडौं क्षेत्र नं. ४ लाई उच्च प्राथमिकता दिइरहेको परिप्रेक्षमा आयोजित कार्यक्रममा वक्ताहरुले अब यो क्षेत्रमा एमाओवादीले जित्ने आधार तयार भैसकेको जनाएका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै आहुतीले जनताले नेपालको भविष्यका लागि तथा देश सिक्किमीकरण हुन नदिनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै अबको निर्वाचनमा एमाओवादीले प्रचण्ड बहुमत ल्याउने दाबी गरे । करिब १०० वटा अत्याधुनिक मोटरसाइकलमा आएका युवाहरु(वाइसिएल भनिएका) बीचमा क्षेत्र नं. ४ एमाओवादीमय बनाउन वाइसिएलको महत्वपूर्ण भूमिका रहने बताइयो । कार्यक्रममा प्रचण्ड आउने भनेर बोलाइएको तर प्रचण्ड आउने कार्यक्रम नभएको देख्दा केही युवाहरु रुष्ट भएको पनि देखिन्थ्यो ।
यसैबीच आगामी भाद्र महिनाको १ गते शनिवार वृहत भेला तथा पार्टी प्रवेशको कार्यक्रम रहेको एमाओवादी कपन अध्यक्ष शिव बजगाईले जनाएका छन् । यो कार्यक्रम पनि सम्भवतः कपनमा नै केन्द्रित हुने उनले बताए । बजगाइँका अनुसार कपनलगायत क्षेत्र नं. ४ बाट एमाले, कांग्रेसलगायत विभिन्न पार्टीबाट एमाओवादीमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष प्रचण्डले अबिर लगाउने कार्यक्रम रहेको छ ।