गाविसले २५००० दिन्छु भन्दा पनि टोल सुधार समितिले खाल्डो पुर्न चासो दिएन
कपन अनलाइनकपन गाविसको मूलबाटो रुपमा चिनिने महांकालबाट फैकाहुँदै कपन उक्लने बाटो यसवर्षको वर्षाका कारण धेरै ठाउँमा बिग्रिएको छन् । पिचबाट खोलो जत्रो पानी बग्दा राधाकृष्ण टोलका धेरै ठाउँमा पिच बगाएर गिट्टिमा देखिने अवस्थामा पुगेको छ । त्यसो त यसपाला कपनका फाँटका धेरै सडकहरुको हालत विग्रिएको छ । विशेषगरेर खोलो पुरेर बनाइएका ढलहरु फुट्दा बाटाबाट खोलो बगेर पिच बिगारेको जताततै देख्न पाइन्छ ।
यसैक्रममा कपन गाविसको वडा नं. १ मा पर्ने यो मूलबाटोको फैका चोक छेवैमा ढुंगेन(तेन्जिङ चोक भनेर चिनिने) तिर जाने बाटोमा पुरानो लिटिल मुन स्कूल रहेको स्थान अगाडि परेको खाल्डोले आवातजावतमा समेत असुविधा परिरहेको छ । गत श्रावण ४ गते परेको भीषण वर्षाका कारण चखुन्चा नामको खोलो भएको यस ठाउँको ढल फुटेपछि यहाँ ठूलो खाल्डो परेको हो ।
राधाकृष्ण मूलबाटो सुधार समितिअन्तर्गत पर्ने यो बाटो विग्रिएको २० दिन बितिसक्दा पनि न स्थानीय बासिन्दा तातेका छन् न यो मूलबाटो सुधार समिति नै । कपन गाविसले यही खाल्डो पुर्नका लागि भनेर त्यस टोलसुधार समितिका अध्यक्षलाई रु. २५००० दिन्छु भन्दा पनि टोल सुधार समिति नतातेको गुनासो गाविस सचिव लोमस आचार्यले गरे । गाविस सचिव लोमस आचार्यका अनुसार यसरी २५००० दिन्छु भनेको पनि १ हप्ता बितिसिकेको छ । मूलबाटो नै विग्रिएको भएकोले यसरी तत्काल पैसा दिने निर्णय गरेको हो तर टोलसुधार समितिले चासो नदिएकाले अप्ठेरो परेको पनि गाविस सचिवले बताए ।
टोलको विकासका लागि स्थापना गरिएका टोलसुधार समिति वा यस्तैयस्तै नाम गरेको थुप्रै संस्था कपनका विशेष गरेर १ र ३ नं. वडामा छ्यास्छ्यास्ती पाइन्छन् तर बिग्रिएको बाटाहरु बनाउन भने खासै चासो नदेखाएको हुँदा स्थानीय व्यक्तिहरु पनि यस्ता सुधार समितिसँग रुष्ट देखिन्छन् ।