सिद्धेश्वर शिव मन्दिरमा भव्य शिवमहापुराण
कपन अनलाइनश्रावण महिनामा नेपाली हिन्दू जगतमा भगवान् शिवको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कपनमा रहेका शिवका मन्दिरहरु पनि आजभोलि भक्तजनले भरिभराउ भएका छन् । अझ विशेष गरेर श्रावण महिनाको सोमवार नेपाली महिलाहरु उत्सवको रुपमा पूजाअर्चना साथै व्रत उपवासमा बिताउने गर्दछन् ।
श्रावण महिनाको यही विशेष अवसर पारेर कपनको प्रशिद्ध धार्मिक स्थल कपन ३ स्थित सिद्धेश्वर महादेव मन्दिरमा विशेष शिव महापुराण लगाइएको छ । स्थानीय ॐ सिद्धेश्वर टोल सुधार समितिको विशेष सहयोगमा माता त्रिपुरासुन्दरी समितिको आयोजना यही श्रावण ११ गतेदेखि श्रावण २३ गतेसम्म संचालन हुनेछ । विहान ८.०० वजेदेखि वेलुकी ६.०० वजेसम्म संचालन हुने पुराण सवै नेपालीमा शान्ति, सद्भाव र मेलमिलापको भावना छाओस् भन्ने उद्धेश्यकासाथ लगाइएको आयोजकले जनाएको छ ।
प्रसिद्ध पुराण वाचक डा.केशव शरण लुइँटेलद्वारा वाचन हुने महापुराणमा कपनवासीहरुको अपार उत्साहका साथ उपस्थिति भैरहेको ॐ सिद्धेश्वर टोल सुधार समितिका अध्यक्ष दीपक अधिकारीले कपन अनलाइनलाई बताए । उनले यस महापुराणले यो सिद्धेश्वर शिव मन्दिर क्षेत्रमा लगाइएको आज सम्मकै ठूलो कार्यक्रम रहेको बताए । यस महापुराणमा सम्पूर्ण कपनबासीलाई समेट्ने आयोजकको लक्ष्य रहेको पनि उनले बताए ।