फिल्म निर्माता राजकुमार राई र रोज राणाको झन्डै हानाहान
कपन अनलाइन
काठमाडौ,पौष १९।
विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास बोर्डतिर हुनुपर्ने मान्छे, किन यहाँ छौ ?’
रोजले प्रतिवाद गरिहाले, ‘तपार्इं नै दौडिरहनुभएको थियो । तपाईं पो त्यहाँ हुनुपर्ने, म किन ?’ यही विषयमा जुहारी चल्यो । ‘हिन्दी चलचित्रको वितरक निकिता पौडेललाई तिमीले नै विकास बोर्डको अध्यक्ष बनायौ । उनी नभएको भए म आफैं अध्यक्ष हुन्थें ।’
‘के भन्या रे ? बोर्ड अध्यक्ष मैले नियुक्त गर्ने हो कि क्याबिनेटले ?’ भन्दै रोज जाइलागिहाले । सँगै रहेका चार जनाले समाए र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले थामथुम पारेपछि अप्रिय घटनाचाहिँ केही हुन पाएन । राई अझै साम्य भएनन् । लुगलुग काम्दै तीतो पोख्न थाले, ‘तिमी ठूलो मान्छे, कांग्रेसको क्षेत्रीय सभापति, तिम्रो हैसियतमा पुग्न सक्दिनँ । मलाई सहयोग गरेनौ मात्र भन्न खोज्या हो ।’ रोजको रिस अझै साम्य भइसकेको रहेनछ । भने, ‘सहयोग गर्न योग्यता पनि हुनु पर्यो नि , माधव वाग्ले, उत्तम केसीजस्तो ठान्या होला मलाई ।’ माधव र उत्तमलाई राजकुमारले यसअगाडि विकास बोर्डमै हातपात गरेका थिए ।
यता, दीपक मनाङेको खास मान्छे हुँ भन्दै हिँड्ने राजकुमार राईमा कतिसम्म लोभ रहेछ भने जाँदाजाँदै विकास बोर्डबाट एप्पलको ल्यापटप घर लगेको विकास बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले तीन वर्ष आफू निर्माता संघको अध्यक्ष भएर रहँदा बसेको कुर्सी र सोफा टेबलबापतको दुई लाख २५ हजार रुपैयाँसमेत लगेका छन् ।
समाचार साभार :जनआस्था साप्ताहिक