वर्षको ५६ करोड व्ययभार थप्दै त्रिभुवन विश्वविद्यालय
कपन अनलाइन
काठमाडौ,पौष १९।
त्रिभुवन विश्वविद्यालयका प्राडा हरि पराजुलीको नेतृत्वमा गठित एउटा समितिको सिफारिसलाई देउवा सरकारले लुकाएर राज्यलाई भार हुने अर्काे निर्णय गरेको छ । सो रिपोर्टले १९८५ वटा दरबन्दी त्रिविमा खाली रहेको देखाउँछ ।
सञ्चयकोषमा जम्मा १०/१२ हजार मात्र प्राध्यापक/अध्यापकहरूको सूची छ तर त्रिविले १६ हजार जनाका लागि तलब लाने गरेको छ । पेन्सन लगायत अरू खर्च मिलान बापत भन्दै त्यो रकम लगिएको हो । उपकुलपति तीर्थ खनियाँ चाहिँ मैले आफूलाई खान मागेको हो र ! अस्थायी, करारका लागि देउवा सरकारले छुट्याएको हुदा सो पैसा पाऊँ भन्दै दिनहुँ अर्थ मन्त्रालयमा धर्ना दिइरहेका छन् ।
क्याबिनेटबाट निर्णय गराएर भर्खरै १४३० वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ । त्यसमा अर्थले सहमति दिएको छैन । उता, त्रिविमा ५ सयभन्दा बढी यस्ता प्राध्यापक छन् जो पढाउँदैनन् तर क्वार्टर कब्जा गरेर बसेका छन् अनि महिनैपिच्छे तलब पनि खान्छन् । कतिपय त विदेशमा छन् । त्यसमा अन्य विश्वविद्यालयमा जानेहरू पनि छन् ।
कृषि, मध्यमाञ्चल, पश्चिमाञ्चल र संस्कृत विश्वविद्यालयमा गएकाहरूको पनि हिसाब मिलान भएको छैन । यसरी नयाँ दरबन्दी थप्दा वर्षको ५६ करोड व्ययभार थपिँदै छ । उता, त्रिविको भौतिक अवस्था हेर्ने हो भने कक्षा कोठालाई झाडीले छोपिसकेको छ । कसैलाई त्यसको सफाइ र संरक्षणको चिन्ता छैन । तर, सरकारलाई आर्थिक भार थप्ने कुरामा भने तलदेखि माथिसम्म सबै दत्तचित्त भएर लागेका छन् ।
समाचार साभार :जनआस्था साप्ताहिक