चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा
कपन अनलाइन
वासिङटन, १५ पुस । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थित एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन् ।
इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गरेको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गरेको र अमेरिकाले आतङ्कबादविरुद्धको लडाईका साथ दिने प्रतिवद्धता समेत प्रकट गरेको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको थियो ।
कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको यस आक्रमणमा परी एक प्रहरी अधिकारी, एक आतङ्ककारी र आठ क्रिस्चियनको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरूको सङ्ख्या दश पुगेको बताएका छन् । उनले अरू पाँच जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थप जानकारी दिएका छन् ।
चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई वटा डिस्पोजल टोलीले निश्क्रिय बनाएको पनि समाचारमा उल्लेख गरिएको छ ।
मार मिना चर्चमा अर्को हप्ता हुने नयाँ बर्षको उपलक्ष्यमा हुने कार्यक्रमको तयारी लागेका क्रिस्चियन समूदायलक्षित आक्रमण भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।