रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा

कपन अनलाइन 

रोल्पा, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् ।

जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने । सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पुर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उनले वताए ।

शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठनलगायतका विषय समेटेर गाउँपालिकाबाट सबै विद्यालयलाई १३ बुँदे परिपत्रसमेत गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए । विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेका छौँ ओलीले भने ।

मगर खाम भाषाबाट पठनपाठन गर्नेगरी पाठ्यक्रम परिमार्जन गर्नका लागि परामर्श थालिएको थवाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले बताए। सबै विद्यालयको स्थानीय सरकारले अनुगमन गरी वास्तविकता पहिचान गरी शैक्षिक सुधारको पाँचवर्षे योजना तर्जुमा गर्ने तयारी भइरहेको छ यसैवर्षको अन्त्यसम्म थवाङ गाउँपालिकाको शैक्षिक रणनीतिक योजना बनाउँ छौँ घर्तीले भने ।

स्थानीय सरकारको शैक्षिक आवधिक योजना बनाउन सेभ द चिल्ड्रेनले जिल्लाका स्थानीय गैर सरकारी संस्थाको सहजीकरणमा सहयोग गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताए । शैक्षिक अवस्था सुधारमा स्थानीय सरकारको सक्रियता प्रशंसनीय भएको क्षेत्रीले प्रतिक्रिया दिए । जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखी काम गर्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताए  ।

तपाइँको प्रतिक्रिया ।