एसएलसीमा कपनः निजी स्कूलहरुले शतप्रतिशत नतिजा ल्याए । सामुदायिक स्कूलमा बालउद्धारको कमजोर प्रदर्शन, यज्ञमतिले ९५ प्रतिशत उत्तीर्ण गर्यो ।

slc-result-2070[1]कपनअनलाइननेपाली समाजमा एसएलसीलाई फलामे गेट भन्ने गरिन्छ । उच्च शिक्षा प्रवेशको ढोका भएकोले एसएलसीको नतिजा हरेक वर्ष महत्वका साथ लिइने गरिन्छ । आजभन्दा १५ वर्ष पहिलेसम्म एसएलसी पास गर्नुलाई महत्व मानिन्थ्यो भने अब उच्च श्रेणी वा प्रथम श्रेणीमा पास गर्नुलाई महत्वको रुपमा हेरिन्छ । तर अझै पनि हरेक वर्ष एसएलसी दिनेहरुमध्ये करिब ५० प्रतिशत विद्यार्थी यस फलामे गेटबाट प्रवेश गर्न सक्दैनन् र उनीहरुको भविष्य जोखिममा पर्ने गरेको छ । त्यसप्रति सरकारी उदासिनताले देशको शैक्षिक अवस्था धराशायी भएको बताइन्छ । शिक्षाविद्हरु नेपालको शिक्षा नीति नै ठीक नभएको बताइरहेको बेलामा एसएलसी दिने सबै विद्यार्थीले उच्च शिक्षा प्रवेशको ढोका खोल्ने अवस्था नसिर्जिएसम्म देशको शैक्षिक अवस्था माथि पुग्न सक्दैन ।

 

कपनमा रहेका माध्यमिकस्तरका विद्यालयहरुले यसपाला पनि पूरानै नतिजा दोहर्याएको छ । निजी स्कूलहरुले शत्प्रतिशत पास गर्ने र सामुदायिक स्कूलले कमजोर प्रदर्शन गर्ने शिलशिला यो वर्ष पनि यथावत रह्यो । कपन ३ मा रहेको बालउद्धार स्कूलले यसपाला  सामुदायिक स्कूलहरुमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । यस स्कूलबाट यो वर्ष  १३२ जनाले एसएलसी दिएकोमा ७२ जनालेमात्र उत्तीर्ण गरे । जबकि कपन ८ मा रहेको यज्ञमति स्कूलले भने २८ जनाले परीक्षा दिएकोमा २७ जना उत्तीर्ण गर्यो । कपन ७ मा रहेको जनजागृती स्कूलले २४ जनाले परीक्षामा भाग लिएकोमा १९ जनाले पास गरे । कपनकै सबैभन्दा पूरानो स्कूल ग्रामशिक्षा स्कूलबाट ३१ जनाले परीक्षा दिएकोमा २० जना उत्तीर्ण भए । सामुदायिक स्कूलहरुमा ग्रामशिक्षा स्कूलका एकजनाले उच्च श्रेणीमा पास गरे भने अरु कुनै पनि स्कूलका विद्यार्थीले उच्च श्रेणीमा पास गर्न सकेनन् । तर पास भएकामध्ये ५० प्रतिशतभन्दा धेरैले प्रथम श्रेणीमा पास गरेका छन्  । ग्रामशिक्षाका ६ जना, जनजागृतिका ६ जना, यज्ञमतीका १८ जना र बालउद्धारका ३६ जना प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

 

slcresult[1]कपनका निजी स्कूलहरुमध्ये सबैले एसएलसीमा शतप्रतिशत उत्तीर्ण गरेका छन् । यो नतिजाले अब एसएलसी पास गर्नैका लागि भने पनि निजी स्कूलमा आफ्ना वच्चावच्ची पढाउन पर्छ भन्ने मान्यतालाई अझै पुष्टि गरेको छ । सामुदायिक स्कूलकै हैसियत राख्ने कपनका १५ भन्दा बढि स्कूलले पनि शतप्रतिशत उत्तीर्ण मात्र गरेनन् उत्तीर्णहरुमा पनि ५० प्रतिशत उच्च श्रेणीमा पास गरे । सामान्य हैसियतका यस्ता स्कूलले पनि कसरी यस्तो परिणाम दिन सके भन्ने बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन्  । कपनका निजी स्कूलहरुमा जोसेफ स्कूलले सबैभन्दा धेरै विद्यार्थी एसएलसीमा समावेश गरेको थियो । जोसेफ स्कूलले ११३ जनालाई परीक्षामा समावेश गराएकोमा स्कूलका शिक्षक दीपक अधिकारीका अनुसार ४१ जनाले उच्च श्रेणी पास गरे भने बाँकी सबैले प्रथम श्रेणीमा पास गरे । त्यसैगरी कपनको अर्काे महत्वपूर्ण र ठूलो रिलाइन्स स्कूलबाट ७८ जनाले परीक्षा दिएकामा २५ जनाले उच्च श्रेणीमा पास भए भने बाँकी सबै प्रथम श्रेणीमा पास भएको स्कूलका शिक्षक बद्रि भट्टराईले कपन अनलाइनलाई बताए ।।

 

त्यसैगरी पुष्पलाल स्कूलबाट ३३ जनाले परीक्षामा दिएकामा १७ जनाले उच्च श्रेणीमा पास गरेका छन् । स्कूलका संचालक मुरारी भण्डारीका अनुसार बाँकी सबैले प्रथम श्रेणीमा उत्तीर्ण गरे । कपन ३ मा नै रहेको चाहना स्कूलबाट ९३ जनाले परीक्षा दिएकोमा ६ जनाले उच्च श्रेणी ७० जनाले प्रथम श्रेणीमा पास गरे । स्कूलका शिक्षक दिनेश राइका अनुसार यो वर्ष चाहना स्कूलबाट १७ जनाले द्वितीय श्रेणीमा पनि पास गरे । पूरानो निजी स्कूल लिटिलमुनले पनि ११ जना परीक्षामा समावेश गराएकोमा ४ जनाले उच्च श्रेणीमा र ७ जनाले प्रथम श्रेणीमा पास गरेको स्कूलका संचालक शम्भु अधिकारीले कपन अनलाइनलाई बताए । त्यसैगरी जुगल स्कूलले पनि शतप्रतिशत परिणाम ल्याउने क्रममा ९ जना उच्च श्रेणीमा १२ जना प्रथम श्रेणीमा र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण गरेको स्कूलका संचालक डोरप्रसादले कपन अनलाइनलाई बताए । कपनमा रहेका साना निजी स्कूलहरुले शतप्रतिशत नतिजा निकालेका छन् । कपन १ मा रहेका ओस्कार स्कूलले ९ जना परीक्षामा समावेश गराएकोमा १ जना उच्च श्रेणीमा उत्तीर्ण भए भने ७ जना प्रथम श्रेणीमा उत्तीर्ण भए । ओस्कार स्कूलबाट यसैवर्ष एसएलसी प्रथम श्रेणीमा पास गरेकी अञ्जना खतिवडाका अनुसार १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भए ।

 

तपाइँको प्रतिक्रिया ।