इद उल फित्र पर्व मनाउँदै
कपन अनलाइन
विराटनगर, १२ असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।

यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ । यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।
पर्सा
यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् ।मुस्लिम समुदयाले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ ।

मुस्लिम समुदायका पुरुष बिहानै स्नान गरी पवित्र भएर जिल्लामा रहेका मस्जिद तथा इदगाह पुगेर बिहान ९ः१५ बजेको शुभसाइतमा इदको नमाज पढेसँगै एक महिना लामो रमजान व्रत समाप्त भएको हो ।
तीन दिनसम्म मनाइने इदमा यो समुदायका व्यक्तिले गरिब तथा असहाय व्यक्तिलाई मद्दत गर्नुका साथै वर्षभरि जम्मा गरेको फितरा (आम्दानीबाट दानका लागि निकालिएको धन) बाँडी सबैलाई खुसी प्रदान गर्ने गरिन्छ । रासस
