दलित सांसदबाट मठमन्दिरलाई सहयोग

कपन अनलाइन 

चितवन, ३० जेठ । कतिपय ठाउँमा अझै पनि दलितलाई मठमन्दिर प्रवेश सहज नवनिरहेको अवस्थामा यहाँकी दलित सांसद विष्णुमायाँ परियारको योजनाको रोजाइमा मठमन्दिर र गुम्बा परेका छन् ।

समानुपातिक तर्फकी सांसद परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत पाउने रकमको २५ प्रतिशतभन्दा बढी रकम मन्दिरमा खर्च गर्दै आउनुभएको पाइएको छ ।

चालु आवमा परियारले भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित कालिका मन्दिर परिसरमा रु ११ लाख सहयोग गरेर बूढानीलकण्ठ मन्दिरको शाखा नारायण विष्णुको मन्दिर निर्माण गर्नुभएको छ ।

परियारले भन्नुभयो, सुतेको मूर्ति बन्दैछ, अरु काम करिब अन्तिम चरणमा पुगेको छ । ठूलो रकम दिएर निर्माण गरेको यो मन्दिरलाई प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट प्राणप्रतिष्ठा गर्ने उहाँको रहर छ । असार २० गते मन्दिरको प्राणप्रतिष्ठाका लागि साइत जुरेको सांसद परियारले बताउनुभयो ।

यससँगै शिवनगरमा रहेको शिव मन्दिरलाई रु दुई लाख, लमजुङ चोकको मन्दिरलाई रु ५० हजार, गणेश मन्दिर, शिवनगरलाई रु ५० हजार उहाँले उपलब्ध गराउनुभएको छ । यस वर्ष सांसद विकास कोषमार्फत समानुपातिक सांसदले रु ५० लाख पाएका छन् ।

अघिल्ला आवमा थोरै रकम पाएपनि सो रकमको पनि महत्वपूर्ण हिस्सा आफूले मठमन्दिरमा दिएको परियारले बताउनुभयो । आफूलाई मठमन्दिर, गुम्बा र विद्यालयमा खर्च गर्न पाउँदा खुसी लाग्ने उहाँको भनाइ छ ।

सांसद परियारले मन्दिरसँगै सो क्षेत्रका तीनवटा गुम्बालाई पनि रु तीनलाख सहयोग गर्नुभएको छ । अन्य धर्मको दवदवा बढेको भन्दै उहाँले आफ्नो मूल उद्देश्य हिन्दू धर्मको जगेर्ना भएकाले मन्दिर निर्माणमा ध्यान दिएको बताउनुभयो ।

मठमन्दिरले आत्मालाई शान्ति दिने भन्दै उहाँले हिन्दू धर्मको रक्षाका लागि आफू लागिपर्ने बताउनुभयो । यो सँगसँगै बौद्धधर्मको प्रवद्र्धनका लागि पनि आफ्नो सहयोग रहने उहाँले बताउनुभयो । साविक गुञ्जनगर गाविसका उपाध्यक्ष विष्णु ढकालले एकजना दलित सांसदले मठमन्दिर निर्माणका लागि पु¥याएको योगदान अतुलनीय र महत्वपूर्ण रहेको बताउनुभयो । समाजमा दलित जातिप्रति अझै बाँकी रहेका विभेदको अन्त्यका लागि परियारको कदम सराहनीय रहेको पनि उहाँले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।