हत्याको एक अर्को प्रशङ्गमा कपन मुछियो

हत्याका मुख्य आरोपी ( मृतकको पत्नी )याङ्जी शेर्पा फोटो सौजन्य: विश्वमणि सुवेदी

कपन अनलाइनकेहि समय अघि कपनमा डेरा गरि बस्ने याङ्जी शेर्पाले आफ्नो श्रीमानलाई प्रेमीको हातबाट मारेपछि हाम्रो कपन फेरी हत्याको समाचारमा सर्बत्र छाएको छ । केही वर्ष अघिदेखि कपनको १ नं. वडामा डेरा लिएर बस्ने याङ्जी का श्रीमान् फुदोर्जी शेर्प ले हालै चपलीमा घर बनाउँदै थिए । तर घर सर्न नपाउँदै आफ्नै श्रीमतीले उनको हत्या गरिन् ।  यहि पुष २२ गते राति निर्माणाधिन घर नजिकै बनाइएको अस्थायी टहरोमा घाँटी रेटेर उनको हत्या गरियो । प्रशङ्गबस् याङ्जीले आफ्नो श्रीमानलाई मार्न लगाएका मान्छेहरू पनि कपनमा नै डेरा गरि बस्ने व्यक्ति हुन् । यो दुखद खबरले कपन शोकपुर्ण गम्भीर बनाएको छ ।

प्राप्त समाचार अनुसार, कन्ट्रयाक्ट किलरमार्फत हत्यामा संलग्न संखुवासभा मकालु–५ की २८ वर्षीया याङ्जी शेर्पा र संखुवासभा याफु–९ का २५ वर्षीय पासाङनिम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुईजना हत्यारा भाडामा लिएर संखुवासभा, मकालु–५ का २९ वर्षीय फुदोर्जी शेर्पाको हत्या गरेका हुन् ।

फुदोर्जीको २२ पुस राति ११:२० बजे चपली भद्रकाली–८ स्थित उनकै निर्माणाधीन घरनजिकैको छाप्रोमा हत्या गरिएको थियो । पेपर कटरले घाँटी रेटी हत्या गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ । हत्यामा संलग्न ‘कन्ट्रयाक्ट किलर’ सोलुखुम्बु देउसा–२ का २७ वर्षीय नीरकुमार कार्की र सोलुखुम्बु छेस्कान–२ का २६ वर्षीय फुर्तेन्जी शेर्पा हुन् । फुदोर्जीको हत्याका लागि उनीहरूले घटनाका योजनाकार पासाङबाट जनही एक लाख २५ हजार रुपियाँ लिएका थिए । हत्यापश्चात् उनीहरूले मृत शरीरलाई कम्बलले बेरी ढल जम्मा हुने खाडलभित्र फालेका थिए ।

२०५८ सालमै फुदोर्जीसँग प्रेमविवाह गरेकी याङ्जीको दुई वर्षअघि पासाङसँग चिनजान भएको थियो । ट्रेकिङ व्यवसायमा संलग्न फुदोर्जी काममा गएका बेला याङ्जीको भेट पासाङसँग बाक्लिन थाल्यो । बेला–बेलामा ‘गिफ्ट’सहित उपस्थित हुने पासाङलाई याङ्जीको मन जित्न समय लागेन । फुदोर्जी नभएका बेला कोठामा नै आएर उनले याङ्जीसित शारीरिक सम्बन्ध राख्न थाले । याङ्जी पनि श्रीमान्भन्दा पासाङसँगको सम्बन्धमा रमाउन थालिन् ।
सामान्य विषयमा पनि निहुँ खोज्न लागेपछि फुदोर्जीले श्रीमतीप्रति शंका गरे । पछि पत्ता लाग्यो, परपुरुषसित श्रीमतीको लसपस । बुझ्दै जाँदा दुईबीच शारीरिक सम्बन्ध नै रहेको उनले थाहा पाए । फुदोर्जीले श्रीमतीलाई सम्झाए । पासाङको नियत ठीक नभएको देखेपछि उनले कपन प्रहरीमा उजुरीसमेत दिए । घटनामा पासाङको दोष देखिएपछि कपन प्रहरीले फुदोर्जीलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिलाएर मिलापत्र गरायो ।
तर, पासाङ यसबाट चेतेनन् । फुदोर्जी ट्रेकिङ गएका बेला दैनिक याङ्जीको कोठामा जान लागे र शारीरिक सम्बन्ध पनि नियमितजसो नै हुन थाल्यो । यद्यपि, उनी याङ्जीलाई सधैँका लागि आफ्नो बनाउन चाहन्थे । अन्तत: फुदोर्जीको हत्याबाहेक अन्य विकल्प उनले देखेनन् ।

२२ पुसको बेलुका फुदोर्जी श्रीमती याङ्जीसँग निर्माणाधीन घरनजिकैको छाप्रोमा सुतिरहेका थिए । रातको करिब १० बजे श्रीमान् सुतिसकेको थाहा पाएपछि याङ्जीले श्रीमान्कै मोबाइलबाट पासाङलाई मिस कल गरिन् । आफू भने नजिकै रहेको डेरामा सुत्न गइन् । पासाङले मिसकलको अर्थ बुझे । ‘कन्ट्रयाक्ट किलर’ उनीसँगै थिए । दुवैलाई लिएर उनले बाटोकै एक भट्टीमा रक्सी पिए । नशामा रहेका उनीहरूले पसलबाट पेपरकटर किने । सेटिङअनुसार तीनैजना घटनास्थल पुगे ।

फुदोर्जी मस्त निद्रामा थिए । त्यही मौकामा नीरकुमारले उनको खुट्टा समाते । फुर्तेन्जीले घाँटी अठ्याए । चिच्याउन लागेपछि तीनैजना डराए । मुख थुन्दा पनि नभएपछि फुर्तेन्जीले पेपर कटर झिके र उनको घाँटीको अघिल्लो भागबाट रेट्न थाले । छट्पटाएपछि पेपर कटर चिप्लियो र फुर्तेन्जीको हात पनि काट्न भ्यायो । आक्रोशित फुर्तेन्जीले पेपर कटर अझ तेज पारे । रगतको सिर्का हान्दै शरीरबाट प्राण उड्यो । मृत शरीरलाई कम्बलमा पोको पारी नजिकैको खाल्डोमा डम्प गरे । तीनैजना गेस्ट हाउसमा सुत्न गए ।

तपाइँको प्रतिक्रिया ।