राजुश्रेष्ठले कर्माछिरिङ शेर्पाकोे नेतृत्वमा एकहजार एक सदस्यीय प्रचारप्रसार समिति बनाए

कपन अनलाइन, काठमाडौँ । 

राजु श्रेष्ठको चुनावी सारथीमा कर्मा र श्रीराम

स्थानीय निकाय निर्वाचन नजिकिँदै गर्दै नेपाली कांग्रेस क्षेत्र नं. ४ चुनावमय भैसकेको छ । बुनपाका ८ वटा वडा तथा महानगरका ४ वडा समाहित क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले एकहजार एक सदस्यीय प्रचारप्रसार समिति निर्माण गरेको छ । क्षेत्रीय सभापति राजु श्रेष्ठले उनका अत्यन्त निकट मानिने कर्माछिरिङ शेर्पालाई प्रचारप्रसारको कमान्ड सुम्पिएका छन् । वुनपाको मेयर पदमा राजु श्रेष्ठ स्वयम् उठ्ने प्रबल सम्भावनाकाबीच घनिष्ठ व्यक्तिलाई उनले प्रचारप्रसारको कमान्ड जिम्मा लगाएका हुन् ।

 

यद्यपि महासमिति सदस्य कर्माछिरिङ शेर्पालाई क्षेत्रीय प्रचारप्रसारको जिम्मा लगाउनुलाई धेरै खुशी भने बनाएको छैन । गुटउपगुटको खेलमाबाट माथि उठ्ने आशा गरिएको नेका क्षेत्रीय राजनीतिमा यो निर्णयले सुखद वातावरण ल्याउदैन भनेर एक सभापति राजु निकट नेताले कपन अनलाइनसँग भने ।   कामनपा वडा नं. १ का शेर्पा पछिल्ला समय वुनपामा पनि क्षेत्रीय सभापतिभन्दा धेरै सक्रिय छन्  । उनको यो सक्रियतालाई धेरैले नरुचाएको पाइन्छ  ।  पूर्व महामन्त्री प्रकाशमान सिंह नजिक मानिने शेर्पालाई क्षेत्र नम्बर ४ मा किङमेकर भनिन्छ । चतुर नेताका रूपमा चिनिने शेर्पालाई संगठनको हितमा भन्दा आफ्नो हित र प्रकाशमानका लागि मात्र काम गर्छन् भन्ने आरोप लाग्ने गरेको छ ।

 

एकहजार एक सदस्यीय प्रचारप्रसार समितिका संयोजक बनेपछि कपन अनलाइनसँग कुरा गर्दै शेर्पाले वुनपा र महानगरका ४ वटा वडाभरी नेकाले जीत हुने गरी उच्चस्तरीय ढ्रंगले चुनावी प्रचारमा आफू लागेको बताए । शेर्पाले बुनपा र महानगरका ४ वटै वडामा नेकाको स्थिति मजबुत भएको झनै मजबुत बनाउन आफ्नो टिम सक्रिय रहने बताए । कर्माछिरिङ शेर्पाको नेतृत्वमा बनेको प्रचारप्रसार समितिको सचिवमा विनोद चालिसे रहेको शेर्पाले कपन अनलाइनलाई बताए ।

 
त्यसैगरी क्षेत्रीय सभापति राजु श्रेष्ठले चुनाव केन्द्रित अनुशासन समिति बनाएका छन् । यस समितिमा पनि उनका नजिकका मानिने श्रीराम लामिछानेलाई संयोजक बनाएको बताइएको छ । लामिछानेलाई यसअघि नै सभापति श्रेष्ठले विकास निर्माण समितिको संयोजक पनि बनाएका छन् ।  यो समितिले चुनावी प्रकृयामा हुने अनुशासनहिनताप्रति लक्षित भएर काम गर्ने बताइएको छ । त्यस्तै जानु घिमिरेको नेतृत्वमा अनुगमन समिति बनेको छ । यसैबीच क्षेत्रीय समितिले पदाधिकारी परिपूर्ति गरेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।