कामनपा – ३ मा नेपाली कांग्रेसका ४ आकांक्षीहरु
कपन अनलाइन, काठमाडौँ । कामनपाका वडाहरुमा चुनावी माहौल छाउँदै छ । नेपाली कांग्रेस, एमाले र माओवादीबाट चुनावी मैदानमा को उठ्ने बारेमा आकांक्षीहरुको लहर उर्लँदो छ । कामनपा ३ ले काठमाडौंको महत्वपूर्ण क्षेत्रलाई समेटेको छ । गंगालाल हस्पिटल, नारायणगोपाल चोक, अमेरिकन एम्बेसी, सितल निवास, बालुवाटार, निर्मल निवास, जापानी एम्बेसीजस्ता महत्वपूर्ण र ताकतवर घर, संस्था तथा स्थान रहेको यस वडामा नेपाली कांग्रेस जीतको आधार बनाउन सक्रिय रहेको बताइन्छ ।
लगातार २ संबिधानसभा निर्वाचनमा नरहरी आचार्यले जितेको महत्वपूर्ण मत हासिल गरेको यस वडालाई कांग्रेसले आफ्नो हैसियत मापनको कसिको रुपमा समेत लिने प्रयास गर्ने जनाइएको छ । ०४९ र ०५४ सालको स्थानीय निकाय चुनावमा एमालेका दीपक केसीले वडाध्यक्ष जितेको यस वडामा यो स्थानीय निकायमा एमालेलाई हराउने तयारीमा नेका रहेको बताइन्छ ।
वडा नं. ३ मा नेकालाई बिजय गराउने अभियानमा को वडाध्यक्ष उठ्छ भन्ने कुराले महत्व राख्ने निश्चित छ । लोकप्रिय, कुशल संगठक तथा कुशल प्रशासकले नै जितको आधार तय गर्ने कुरामा वडा नं. ३ कांग्रेस दुईमत नरहे पनि त्यो लोकप्रिय, कुशल संगठक तथा राम्रा प्रशासक को हो ? भन्ने विषयमा भने अझै अन्यौलमा छ । यस वडाबाट ४ जनाले वडाध्यक्षको आकांक्षा गरेका छन् । यसरी वडाध्यक्षको आकांक्षा गर्नेमा महाधिवेशन प्रतिनिधि राजेश अधिकारी, पूराना नेता नवराज शर्मा गौतम, युवा नेता विदुर कार्की तथा इकाई सभापति विषम केसी रहेका छन् ।
टिकट पाउने आधारका लागि चाहिने लोकप्रियता, कुशल संगठक तथा राम्रा प्रशासकभन्दा पनि शक्ति केन्द्रको निकट जो हो त्यसले टिकट पाउने निश्चित छ । यो अबस्थामा अधिकारी, गौतम, कार्की तथा केसीमध्ये एकले टिकट पाउँदा बाँकीले देखाउने अहंकार, असहयोग, असमझदारीले विजय अभियान कमजोर हुने निश्चित देखिन्छ । यस वडामा नेपाली कांग्रेसलाई एमालेबाट फेरी पनि दीपक केसीले नै टिकट पाउने भन्ने हल्लाले तकडा विपक्ष हुने निश्चित देखिएको छ ।
यस वडामा नेपाली कांग्रेसका आकांक्षीहरुले नरहरी आचार्य र प्रकाशमान सिंहसँगको निकटताको आधारमा टिकट पाउने छन् । त्यो निकटताभित्र पनि निष्कपट निकताले नै यी ४ जनामध्ये एकले टिकट पाउने छन् ।