बुनपामा उम्मेदवारका लागि आकांक्षी महिलाहरु

कपन अनलाइन, काठमाडौँ । महिलाका लागि संबिधानमै आरक्षणको व्यवस्था गरिए पनि स्थानीय निकाय चुनावको दिन नजिकिँदै गर्दा पनि संभावित महिला उम्मेदवारीका बारेमा भने खासै चर्चा चल्न सकेको छैन । बुनपामा पुरुष उम्मेदवारहरुको व्यापक चर्चा तथा बहश भैरहँदा महिलाहरुका बारेमा भने सामाजिक संजालमासमेत सक्रियता नदेखिनुले नेपाली समाजमा महिलाहरुको भूमिका र गरिमाप्रति नै प्रश्नचिन्ह बनेको छ ।
संभावित ठूला पदमा सँधै पुरुषहरुको वर्चश्व रहने अबस्था भएकाले बुनपामा महिलाहरुको राजनीतिक भूमिका खासै मुखरित हुन नसकेको अवस्था छ । सामाजिकमात्र हैन राजनीतिक सक्रियतामा पनि बुनपामा महिलाहरु कमजोर मान्नु पर्ने छैन । अझ कपनका महिला अगुवा बुनपामा मात्र हैन क्षेत्र नं. ४ मै सक्रिय मानिन्छन् । सामाजिक सक्रियताका हिसाबले तथा राजनीतिक कार्यकर्ताको हिसाबले महिलाहरुको अगुवाइलाई पुरुषहरुले मूल्य वा मान्यता दिएका भने देखिदैन ।
बुनपामा दलीय हिसाबमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका महिलाहरुलाई क्षेत्रीय समितिमा कोटाको रुपमा स्थापित गरिएको पाइए पनि भूमिकामा भने दृश्यमा देख्न पाइदैन । गुट उपगुटका लागि नै आपसी झगडामा व्यस्त रहने पार्टीका स्थानीय स्वरुप आफैमा महिला मैत्री छैन । तथापि महिलाहरु आफ्नो ठाउँबाट स्थानीय निकाय निर्वाचनमा सक्रिय हुन थालेका छन् । महिलाहरुको  सक्रियतासमेत आफैमा गरिमामय भने देखिएको छैन । महिलाहरु आरक्षण कोटाका लागि नै सक्रिय भएको देखिन्छ ।
बुनपामा मेयरका लागि अहिलेसम्म महिलाको मजबुत दावीको प्रशंग आएको छैन । तथापि अपुष्टरुपमा माओवादी केन्द्रले महिलाई मेयर पदमा उठाउने कुरा फिँजिएको छ । बुनपा १० की हेमा अधिकारीलाई माओवादी केन्द्रले मेयर उठाउने हल्ला चले पनि पुष्टि भने भएको छैन ।

 

त्यसैगरी नेकपा एमालेबाट शान्ती अधिकारीको नाम मेयरका लागि भनेर हल्ला चले पनि यो हल्ला प्रभावकारी नभएको एमाले आधिकारिक श्रोतले बताएको छ । नेपाली कांग्रेसबाट भने कुनै पनि महिलाको नाम आएको छैन ।
उपमेयरमा भने महिलाहरुलाई स्वभाविक आरक्षण भएकाले यो पदमा महिलाहरुबीच टिकटका लागि प्रतिष्पर्धा हुने देखिएको छ । सर्बाधिक सक्रिय महिला भएको कपनका तीनवटा वडाहरुका अगुवा महिलाहरु टिकट पाउलान् वा नपाउलान् भन्ने विषय सबैको चासो रहेको छ ।

 

कपनका तीनवटा वडामा सक्रिय महिलाहरुको सूचिमा नेकाबाट प्राध्यापन पेशामा संलग्न रहेकी पूर्व क्षेत्रीय कोषाध्यक्ष मिना पराजुली, हाल तरुणदलमा सक्रिय रहेकी महिला अधिकारवादी पवित्रा पोखरेल, क्षेत्रीय सदस्य रिता बुढाथोकीको नाम चर्चामा रहेको छ । नेकामा महिला अगुवाहरु धेरै भएकाले कपनले नै उपमेयर पाउँछ नै भन्ने केही छैन ।
त्यसैगरी एमालेका तर्फबाट क्षेत्रीय सदस्यहरु देवी रेग्मी र विन्दा गौतमको नाम चर्चामा रहेको छ । कपनलाई उपमेयर पद दिने विषयमा एमाले एकमतमा रहेको बताइन्छ । एमालेले कपनबाट उपमेयर पद दियो भने सम्भवतः रेग्मी र गौतममध्ये एकलाई टिकट दिने बताइन्छ ।
माओवादी केन्द्रमा कपनबाट राजनीतिक गर्ने धेरै महिला अगुवाहरु रहेका छन् । हेमा अधिकारी, संगिता पन्त, संचिता डोटेल आदि महिला अगुवाहरुमध्येबाट कसैले उपमेयर पाउने सम्भावना देखिए पनि हेमा अधिकारी मेयरमा उठ्ने सम्भावना नकार्न सकिदैन । संचिता डोटेलले वडा नं. १० को वडाध्यक्ष पदका लागि आफू सक्रिय रहेको बताएकी छिन् ।

तपाइँको प्रतिक्रिया ।