मुस्ताङमा ३७, सुनसरीमा एकसय ६५ मतदान केन्द्र
कपन अनलाइन
मुस्ताङ, ११ चैत । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ”, उहाँले भन्नुभयो ।
मुस्ताङमा पाँचवटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
विभिन्न चरणमा सङ्कलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिनुभयो । “केही दिनमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी जुटेको छौँ, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ”, उहाँले भन्नुभयो ।
सुनसरीमा एकसय ६५ मतदान केन्द्र
इनरुवा ः यसैबीच, स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो ।
चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमा समेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा एकसय ६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिनुभयो । रासस