सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने ः खनाल

कपन अनलाइन 

म्याग्दी, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।

आगामी वैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उहाँले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने धारणा राख्नुभयो । “सङ्घीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होइन आफ्नो गाउँठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ”– उहाँले भन्नुभयो ।

उहाँले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले मधेसमा देखिएको समस्यालाई सरकारले राजनीतिक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने गरी ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राख्नुभयो । तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहनुभएका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पूरा हुने बताउनुभयो ।

वाइसिएल म्याग्दीको नयाँ नेतृत्व चयन

यसैबीच, नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को सोमबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भोजबहादुर थापा (कुमार)को अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।

पैँतीस सदस्यीय कमिटीको उपाध्यक्षमा नगेन्द्र केसी, दोरण शेरचन, सविन रोका, खुम पुन र ईन्द्र थापा रहनुभएको छ । सचिवमा सन्दिप खत्री, सहसचिवमा गीता पुन, कोषाध्यक्षमा बालकृष्ण पुर्जा, लेखा संयोजकमा यादव सुवेदी र अनुशासन संयोजकमा सुरवीर पुन रहनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।