डोल्पामा ६६, सिन्धुलीमा १३७ मतदान केन्द्र
कपन अनलाइन
त्रिपुराकोट (डोल्पा), ८ चैत । नजिकिँदै गरेको स्थानीय तहको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा मतदान केन्द्र तोक्ने काम सकिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
एउटा वडामा एक मतदान केन्द्र नघट्ने गरी जिल्लाका ४६ वटा स्थानमा ६६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको नियमअनुसार मतदान केन्द्र तोक्दा जनसङ्ख्यालाई आधार मान्नुपर्ने भए तापनि हिमाली जिल्ला डोल्पामा भूगोललाई आधार मानी तोकिएको बुढाको भनाइ छ ।
सिन्धुलीमा १३७ मतदानस्थल
यसैबीच, सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा १३७ मतदानस्थल तोकिएको छ ।
संविधानसभा २०७० को निर्वाचनमा भन्दा छवटा निर्वाचनस्थल थप गरी १३७ निर्वाचनस्थल तोकिएको जिल्ला निर्वाचन अधिकृत तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका सदस्य सचिव रमेशकुमार जोशीले बताउनुभयो । संविधानसभाको निर्वाचन २०७० मा १३१ निर्वाचनस्थल रहेका थिए ।
नयाँ थपिएका मतदानस्थलमा कुसुम प्रावि भद्रकाली, प्रभात मावि रानिवास, जनजागृति मावि कोक्टी, दुधौली मावि वाङ्ग्रिङ फेदी, लाम्पानटार, ज्यामिरे प्रावि कुशेश्वर दुम्जा र निमावि सखौरी, कपिलाकोट रहेका छन् ।
जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिले दुईवटा मतदानस्थललाई स्थानान्तरण गरेको छ । प्रावि भुताहा कपिलाकोटको मतदानस्थललाई प्रावि नवज्योति धमिले कपिलाकोटमा स्थानान्तरण गरिएको छ भने स्वास्थ्य चौकी रानिवासको मतदानस्थललाई वन कार्यालय रानिवासमा स्थानान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले संविधानसभाको निर्वाचन २०७० को निर्वाचनस्थललाई आधार बनाएर एक निर्वाचनस्थलमा एकहजार मतदाता र बढीमा पाँच घन्टासम्म पैदल यात्रामा पुग्नसक्ने आधारमा मतदान स्थल तोकिएको हो ।
जिल्लामा हालसम्म मतदाता सङ्ख्या यकिन हुन सकेको छैन । लगभग एकलाख ७१ हजार १५९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत जोशीले बताउनुभयो । यसैगरी, जिल्लामा रहेका सात गाउँपालिका र दुई नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य गरी जम्मा ४१३ जना निर्वाचित हुने भएका छन् । रासस