टोखा नगरपालिकाको मेयरमा मनिष जोशीको चर्चा
कपन अनलाइन, काठमाडौँ । सरकारले स्थानीय निकाय निर्वाचनको मिति तोकेपछि देशभर राजनीतिक दलका नेताहरु चुनाव केन्द्रित बन्न थालेका छन् । नेपाली कांग्रेसले नगरस्तरीय भेलाका लागि कार्यक्रमसमेत तयार गरेको छ भने अन्य पार्टीहरु पनि विस्तारै चुनावतिर केन्द्रित भैसकेका छन् । एमालेको मेची महाकाली अभियान पनि स्थानीय निकायमा सूर्यचिन्हतिर मतदातालाई केन्द्रित गर्ने अभियानकै एकपाटोको रुपमा लिइएको छ भने माओवादी केन्द्र पनि बिभिन्न चुनाव केन्द्रित गतिबिधिमा लागेको छ ।
काठमाडौंका नवनिर्मित नगरपालिकाहरुमा स्थानीय चुनावको रन्को शुरु भएको आभाष सामाजिक सन्जालहरुले दिन थालेका छन् । अनलाइन पत्रिकाहरु तथा साप्ताहिक पत्रिकाहरु पनि बिभिन्न व्यक्तिहरुको पक्षमा जनलहर रहेको कुरा लेख्न व्यस्त हुन थालेका छन् । काठमाडौंको पूरानो र महत्वपूर्ण टोखा सहरलाई सम्बोधित गरेर बनेको टोखा नगरपालिकालाई पनि बिस्तारै चुनावी वातावरणले छुन थालेको छ । प्राचीन टोखाबस्तीका महत्वपुर्ण व्यक्तिहरु पनि स्थानीय निकाय चुनावमा आफूलाई समाहित गर्न लालयित भएका छन् ।
टोखा सहरमा महत्वपुर्ण इतिहास बोकेका स्वर्गीय गजराज जोशीका सुपुत्र मनिष जोशी यिनै महत्वपूर्ण पात्र मध्ये एक हुन् । नेपाली कांग्रेसमा लामो सांगठनिक यात्रा तथा विकासे गतिबिधिमा सोही अनुरुप नै क्रियाशिल रहेका मनिष जोशी टोखा नगरपालिकाको मेयरको रुपमा आफूलाई सक्रिय बनाएका छन् । सन् १९५१ मा भएको एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागि भएका स्वर्गीय गजराज जोशी टोखा तथा आसपासमा सम्मानित व्यक्तित्व हुन् । स्वर्गीय जोशीको महत्वपूर्ण छविलाई उनका छोरा मनिष जोशीले विशिष्टरुपमा उजिल्याउन काम गरेका छन् । मनिष जोशीको सामाजिक सक्रियता यसैको उदाहरण हो ।
०४६ को जनआन्दोलनदेखि सक्रिय राजनीतिमा रहेको मनिष जोशी नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा जिल्ला सदस्य भै हाल महाधिवशेन प्रतिनिधिको रुपमा क्रियाशिल छन् । महाधिवशेन प्रतिनिधिको रुपमा गत वर्ष भएको १३ औँ महाधिवेशनमा उनले सर्वाधिक मत ल्याएका थिए ।
टोखाको सांस्कृतिक, सामाजिकलगायत सर्वपक्षीय विकासका लागि योगदान पुर्याउँदै आएका मनिष जोशी टोखा नगरपालिकाले ओगट्ने भूपरिधिमा लोकप्रिय समेत मानिन्छन् । नेपाली कांग्रेसभित्र स्वच्छ राजनीति र विकासे गतिबिधिका कारण उनलाई स्थानीयस्तर सबैले रुचाउने गरेका छन् । खेलकुदका बिभिन्न क्षेत्रमा लामो संलग्नताले युवाहरुमाझ पनि मनिष जोशी सर्वप्रिय नेता हुन् । खेलकुदका बिभिन्न इभेन्टहरुको आयोजनामा संलग्नतामात्र हैन एथ्लेटिक्सका थुप्रै अन्तराष्ट्रिय खेलमा सहभागिता जनाएका छन् मनिष जोशीले । उनले त्यस्तै किकबक्सिङ खेलमा कोरियामा पदकसमेत प्राप्त गरेका थिए ।
२ वर्ष अघि गएको महाभुकम्पका बेला उनले गरेको सक्रिय सहभागितालाई पनि यस नगरपालिका अन्य नेताहरुकोभन्दा निकै नै प्रशंसनीय मानिन्छ । कोरियाबाट डोनर ल्याएर भुकम्पपछि पूर्वाधार विकास, सामाजिक परिचालन तथा आर्थिक हैसियत विकासमा उनले विशेष पहल गरेका थिए । त्यसैगरी टोखामा किसानका बालबालिका निशुल्क शिक्षा प्रदान गर्न पनि उनको ठुलो भूमिका थियो ।
राजनीतिबाहेक पनि धेरै बिधामा उनको सक्रियता तथा विकासे छविका कारण टोखा नगरपालिकामा मनिष जोशीलाई सबैले मेयरको रुपमा हेर्न चाहेको बताइन्छ । यस नगरपालिकामा मनिष जोशीबाहेक न्हुच्छेनारायण मानन्धर, बसन्त श्रेष्ठ, केदार पाठक र हरिहर अधिकारीको पनि मेयरको रुपमा चर्चा हुने गरेको छ । यद्यपि मनिष जोशी पार्टीभित्र पनि सर्वप्रिय र बाहिर पनि लोकप्रिय मानिन्छन् । मनिष जोशी नेपाली कांग्रेसभित्र पार्टी महामन्त्रि सशांक कोइराला, पूर्व महामन्त्रि प्रकाशमान सिंह दुवैसँग नजिक छन् भने क्षेत्र नं. ५ र ६ का सांसदहरु नरहरि आचार्य, भीमसेनदास प्रधानसँग निकटता राख्दछन् ।